आफ्नै पार्टीका नेतालाई बाबुरामको कटाक्ष – क्षणिक लाभ कि लोकतन्त्रको रक्षा ?

ओकेखबर संवाददाता १४ चैत्र २०७७, शनिबार १०:३७ मा प्रकाशित ( साल अघि) ३५४ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै पार्टीका नेताहरुलाई कटाक्ष गरेका छन् ।
जसपाको पूर्वराजपा समूह रेशम चौधरीको रिहाइ र मधेस तथा थरुहट आन्दोलनका मुद्दा फिर्ता भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने गरि अघि बढेपछि उनले प्रतिगमनको खतरा नटरेको टिप्पणी गरेका छन् ।

सरकार पनि मुद्दा फिर्ता गर्न र रेशम रिहाइको प्रक्रियालाई अघि बढाउन सकारात्मक भएको दुबै समूहका वार्ता टोलीका सदस्यहरुले बताइरहेका छन् । सरकारले मुद्दा फिर्ता गरेमा पूर्वराजपा समूह पार्टी फुटाएर भए पनि सरकारमा जाने भएको छ ।

यस्तो परिस्थितिमा डा. भट्टराईले आफ्नै नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई लक्षित गर्दै बुद्धि विवेकको प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, “प्रतिगमनको खतरा टरेको छैन ! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई बिदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुई विकल्प अगाडि छन् ! पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बीपी/पुष्पलालको हो ! वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं !”


सम्बन्धित खबरहरु