ओलीको चियापान समारोह नेपाल समूहले बहिष्कार गर्ने

ओकेखबर संवाददाता ३ चैत्र २०७७, मंगलवार ०८:१२ मा प्रकाशित ( साल अघि) ४०५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरकारी निवास बालुवाटारमा चियापान समारोह आयोजना गर्दैछन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को १२ औं केन्द्रीय बैठकको तयारी स्वरुप चियापान समारोह आयोजना गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीले केन्द्रीय कमिटीको १२ औं बैठकको सन्दर्भमा आयोजना हुन गइरहेको चियापान समारोहमा सहभागी हुन एमालेका सबै केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा सामाजिक सञ्जाल फेसबुकमा शेयर गरिएको भण्डारीले जारी गरेको सूचनामा चियापान तथा अनौपचारिक भेटघाट समारोह मंगलबार बिहान ११ बजेबाट सुरु हुने उल्लेख छ ।

चैत ७ गतेका लागि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोही बैठकलाई लक्षित गरेर बालुवाटारमा चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

तर, एमालेको असन्तुष्ट पक्ष भने उक्त चियापान समारोहमा सहभागी नहुने भएको छ । सोमबार बेलुकी नयाँ बानेश्वरमा बसेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाले प्रधानमन्त्री ओलीको चियापान समारोह बहिष्कार गर्ने निष्कर्ष निकालेको थियो ।

भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले आफ्नो समूहका नेताहरु कसैलाई पनि चियापान समारोहमा नजान निर्देशन दिएको भेलामा सहभागी स्रोतले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार प्रधानमन्त्री ओलीसँगको छलफल बिना निष्कर्ष टुंगिएपछि नेपाल समूहले नयाँ बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । भेलामा नेता नेपालले ओलीसँगको छलफल निश्कर्षमा नपुगेको र आफूहरुका समानान्तर क्रियाकलापहरु नरोकिने बताएका थिए ।


सम्बन्धित खबरहरु