आज: 

जिल्ला अदालत धादिङको नयाँ भवनको उद्घाटन

ओके खबर २ चैत्र २०७७, सोमबार १८:४७ मा प्रकाशित ( साल अघि) १७४ पाठक संख्या

धादिङ । जिल्ला अदालत धादिङको नयाँ भवनको उद्घाटन सम्पन्न भएको छ । सोमबार सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपककुमार कार्कीले नयाँ भवनको उद्घाटन गरेका हुन् ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश डाक्टर कुमार चुडालको अध्यक्षतामा भवन उद्घाटन् कार्यक्रम सम्पन्न भएको हो ।

०७२ सालको भुकम्पका कारण तत्कालिन जिल्ला अदालतको भवन भत्किएपछि २०७३ साल फागुन २६ गते सार्वेच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले धादिङ जिल्ला अदालतको नयाँ भवन शिलान्यास गरेकी थिइन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत निर्माण गरिएको उक्त भवन कुल ७ करोड ५२ लाख ९९ हजार ६ सय ५७ रुपैयाँ ३३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । तीन तला रहेको भवनमा ३४ वटा कोठा रहेको छ । भवन अपाङ्गमैत्री हुनुका साथै लिफ्ट समेत जडान गरिएको छ ।

भवन उद्घाटन कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमी त्रिपाठी, बागमती प्रदेश सभाका सदस्य डाक्टर रामकुमार अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, कानून व्यवसायी लगायतको आतिथ्य रहेको थियो ।


सम्बन्धित खबरहरु