आज: 

नागढुंगा–कलंकी सडकखण्डमा वृक्षारोपण गरिने

ओके खबर २ चैत्र २०७७, सोमबार ०७:४७ मा प्रकाशित ( साल अघि) ३३७ पाठक संख्या

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा वृक्षारोपण गरिने भएको छ। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमुना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षारोपण गर्न लागेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुंगा–कलंकी सडकखण्डमा बोटबिरुवा र फूलहरू रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको जानकारी दिए। देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमुना राजमार्ग बनाउन बिरुवा रोप्ने र तारजाली हाल्ने काम सुरु गर्न लागेको उनको भनाइ छ।

यस्तै चन्द्रागिरिले नागढुंगा–कलंकी सडकखण्ड सरसफाइका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ। सडक सरसफाइ र बोटबिरुवा संरक्षणका लागि नगरपालिकाले उक्त रकम विनियोजन गरेको छ।

चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि एक करोड लागतमा ६८ वटा अत्याधुनिक सिसी क्यामरा जडान गरेको नगरपालिकाले पिपलामोडदेखि कलंकीसम्म ७०० वटा सडक बत्ती जडान गर्न लागेको छ। चन्द्रागिरिले सडकबत्ती जडानका लागि चालू आर्थिक वर्षमा एक करोड रूपैयाँ विनियोजन गरेको छ।

यसअघि नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गरी बिरामीलाई अस्पताल आउन सहजताका लागि एम्बुलेन्ससमेत खरिद गरिसकेको छ भने चन्द्रागिरिभित्र हुने आगलागीका घटना नियन्त्रणका लागि दमकल पनि खरीद गरी सञ्चालनमा ल्याइसकेको छ।


सम्बन्धित खबरहरु