चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि नियमित सञ्चालनमा आएको छ । सडक मर्मत कार्य सम्पन्न भएपछि उक्त सडकखण्ड नियमित सञ्चालनमा आएको हो ।
पहिरो रोक्ने कार्यका लागि एक साता दुइतर्फी सवारी आवागमन रोकिएको थियो । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका सडक अवरुद्ध पारिएको थियो । फागुन २३ गतेदेखि बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने सडक शनिबारदेखि नियमित सञ्चालनमा आएको हो ।
शनिबार दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सकेर नियमितरुपमा आवागमन सुरु भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिइन् । सो ठाउँमा गाडी अवरुद्ध गरि पहिरो रोक्ने काम सम्पन्न भएको छ ।
सडक विस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिएदा पहिरोको जोखिम बढेको छ । सडक बिस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको छ ।