ढासा ढर्रा , अतिसय बढी , चढ्न थाल्यो विकार ।
बच्लान् हाम्रा ? प्रचलन प्रथा , दिव्य संस्कार- सार ।।
बोझा बन्दै , घरघर यहाँ , ढाेँगकाे ढोल बज्छ ।
अग्ला सग्ला , ॠषि—मत यहाँ , खस्छ पाताल खस्छ ।। १।।
हाम्रा सग्ला , प्रचलन —प्रथा , बिग्रदै भत्कदै छन् ।
खाना नाना , बसउठ सबै , बिच्कँदै चिप्लँदै छन् ।।
फिल्मी शैली , अमिर जनको , नक्कलै गर्न थाल्याैँ।
हेर्दा हेर्दै , गलत —लतमा , दिव्य संस्कार फाल्यौँ ।। २।।
हाम्रा जन्मोत्सव अब बिहे , नाम वा क्षौर — कर्म ।
हाम्रा श्रध्दा , तिथि ब्रत सबै , पार्न थाल्याैँ अकर्म ।।
खर्चन्छौ रे , ॠण अझ थपी , भोज वा दाइजोमा ।
सामन्तीका अनुकरणले , पर्दछाैँ घाइतेमा ।। ३।।
झुम्का कल्ली , किलिप तिलरी स्वर्ण बाला फुलीमा ।
थप्छन् अाैँला, तनभर अझै हार ब्रास्लेट नाना ।।
कट्टी छाती , शिर नयननै , झल्झलाकार पारी ।
खर्चेका छाैँ , धन मन गरी , दर्प पाखण्ड भारी ।। ४।।
झर्को बन्ला , प्रचलन प्रथा , शिष्ट संस्कार ढल्ला ?
अग्ला सग्ला , मुनिवचन नै , बन्न सक्छन् कि खल्ला ?
नेपाली हो ! बुझन मुटुले , छोड ढासा र ढर्रा ।
मैलाधैला अनुकरणले , शास्त्र नै हुन्छ टर्रा ।। ५।।
घाँटी हेरी ,बुझक जन हाे , निल्नु पर्ला कि हाड ?
लै लै गर्दा, प्रचलन प्रथा, मासिएलान् कि चाड ? ?
हेक्का गर्द्याै , प्रबुध जन हाे, फाल ढासा र ढर्रा ।
मात्रै पत्रू , अनुकरणले, मच्चिदैछन् वितण्डा ।।६।।