काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा सहभागी हुनका लागि बन्दी रिहाइको शर्त नराखिएको प्रष्टिकरण दिएका छन् । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरी रिहाइका लागि जसपा सरकारमा सहभागी हुन खोजेको भन्दै आलोचना भइरहेका बेला उनले यस्तो प्रष्टिकरण दिएका हुन् ।
अध्यक्ष डा. भट्टराईले गएराति ट्विट गरेर भनेका छन्, “रेशम चौधरीलगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुन सक्दैन ! एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुन सक्छन् भने थारूको मात्र किन नहुने ? भन्ने हो ! कुनै भ्रम नरहोस् !”
यसअघि बिहीबार राति ट्विट गरेर उनले जसपा सत्ताको दौडमा नरहेको दाबी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका शीर्ष नेताहरुका बीचमा सत्ता साझेदारीलगायतका विषयमा कार्यदल स्तरमा छलफल गर्ने सहमति जुटेकै दिन भट्टराईले यस्तो दाबी गरेका हुन् ।
“देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलिक लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसादौडमा छैन है !,” अध्यक्ष भट्टराईले गएराति ट्विट गर्दै भनेका थिए ।