रेशम रिहाइका विषयमा सरकार र जसपाबीच आजदेखि कार्यदलस्तरमा वार्ता

ओकेखबर संवाददाता २८ फाल्गुन २०७७, शुक्रबार ११:३५ मा प्रकाशित ( साल अघि) २२४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई रिहाइ गर्न सकारात्मक देखिएपछि शुक्रबारदेखि कार्यदलस्तरमा वार्ता हुने भएको छ ।

प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतृत्वसँगको छलफलका क्रममा प्रधानमन्त्री ओली सांसद्समेत रहेका चौधरीलाई रिहाइ गर्न सकारात्मक देखिएका हुन् । सत्ता सहकार्यका लागि बिहीबार बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओली सांसद चौधरीको रिहाइका लागि सकारात्मक देखिएका जसपाले जनाएको थियो ।

“हामीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन लगायतका विषयमा आफ्‍ना कुराहरु राख्यौं,” जसपाको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले लेखाजोखासँग भने, “प्रधानमन्त्रीजीले सबै कुरामा सकारात्मक अभिव्यक्ति दिनुभएको छ ।”

उनले बालुवाटारको छलफलले सत्ता सहकार्यका लागि सरकार र जसपाका तर्फबाट गठित दुबै कार्यदलहरुले शुक्रबारबाट नै कामहरु अघि बढाउनेसमेत बताएका छन् । “कार्यदलहरुले शुक्रबारदेखिनै वर्क स्टार्ट गर्छन्,” नेता कर्णले भने ।

गत आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरसँगको छलफलपछि प्रधानमन्त्री ओलीले जसपासँग वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमाले संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङ र आफ्ना परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको कार्यदल गठन गरेका थिए ।

यस्तै जसपाले पनि नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेर अनौपचारिक छलफलको जिम्मेवारी दिएको थियो ।


सम्बन्धित खबरहरु