सू चीले अवैधरुपमा पैसा र सुन लिएको म्यानमार सेनाको आरोप

ओकेखबर संवाददाता २७ फाल्गुन २०७७, बिहीबार १६:५७ मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

योङ्‌गुन । म्यानमारको सैन्य शासनको नियन्त्रणमा रहेकी म्यानमारकि प्रजातन्त्रवादी नेतृ आङ सान सू चीमाथि सत्तामा रहँदा अवैधरुपमा ६ लाख अमेरिकी डलर रकम र केही परिमाणमा सुन लिएको आरोप लगाइएको छ ।

म्यानमारको सेनाले सूचीमाथि लगाएको यो अहिलेसम्मकै गम्भीर आरोप भएको बीबीसीले जनाएको छ । सेनाले दाबी गरेको छ, “सू चीले उक्त रकम स्वीकार गरेको सूचना पनि हामीले पुष्टि गरेका छौं ।”

बिहीबार सेनाले प्रेस सम्मेलन गर्दै सू चीमाथि उक्त आरोप लगाएको हो । तर, यस विषयमा कुनै प्रमाणहरु भने पेश गरिएका छैनन् । प्रेस सम्मेलनका क्रममा राष्ट्रपतिसहित केहि मन्त्रीहरुमाथि पनि भ्रष्टाचारको आरोप लगाइएको छ ।

ब्रिगेडियर जनरल जा मिन तुन ले भने, “सेनाले चुनावी अनियमितताका बारेमा आफ्नो रिपोर्ट पठाएको थियो । तर, म्यानमारका राष्ट्रपतिले चुनाव आयोगलाई यस विषयमा कुनै कारबाही नगर्न आदेश दिएको थियो ।”

तर, म्यानमारको चुनाव आयोगले भने सेनाको उक्त आरोप खारेज गरिदिएको छ ।

म्यानमारका सेनाले फेब्रअरी १ मा नेतृ सू ची, राष्ट्रपति, मन्त्री, सांसद्‌ र अन्य नेताहरुलाई नियन्त्रणमा लिएर सैन्य कू गरेको थियो । उक्त सैन्य कू विरुद्ध म्यानमारमा व्यापक विरोध प्रदर्शनहरु भइरहेका छन् ।

सेनाले उक्त विरोध प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको छ । यही क्रममा सुरक्षा बलले चलाएको गोली लागेर ५५ जनाको मृत्यु भइसकेको छ । – बीबीसी


सम्बन्धित खबरहरु