नारायणगढ–मुग्लिन सडक आजदेखि एक हप्ता दिउँसो बन्द हुने, यस्तो छ कारण

ओकेखबर संवाददाता २३ फाल्गुन २०७७, आईतवार ०९:५८ मा प्रकाशित ( साल अघि) ४०१ पाठक संख्या

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्ड अन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडक खण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिए ।

उनले अत्यावश्यक सेवा बाहेक सबै सवारी साधन रोकिने बताएका छन् । गत असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणढ तर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्ति बजारमा रोकिने छ ।

उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।


सम्बन्धित खबरहरु