उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

ओकेखबर संवाददाता २२ फाल्गुन २०७७, शनिबार २२:१८ मा प्रकाशित ( साल अघि) २९५ पाठक संख्या

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।

एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि गत वर्ष यो सीमा पार भएको राष्ट्र संघ सुरक्षा परिषद्को विज्ञहरूले बताएका हुन् ।

नयाँ रिपोर्ट अनुसार गत वर्ष जनवरीदेखि सेप्टेम्बरसम्ममा कोरियाले कुन देशको भनेर परिचय नखुलेका केही मुलुकका १२१ सामुद्रिक ट्याङ्करको प्रयोग गरी ग्यास तथा डिजेललगायतका पदार्थलाई आयात गरेको हो ।

उत्तर कोरियालाई आवश्यक भनी तोकिएकोभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट प्योङ्याङ्ले आफ्नो आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरी आफ्नो हतियार विकासमा प्रयोग गरेको आशङ्का विज्ञहरूले गरेका हुन् ।

उत्तर कोरियाले राष्ट्रसङ्घको प्रतिबन्धभन्दा कोइला, माछा र टेक्सटायललगायतका सामानको निर्यातको सिलिङ (सीमा)लाई पनि पार गरेको र यसरी प्राप्त राजश्वलाई हतियार विकासमा लगाएको दावी राष्ट्रसंघीय समितिको रहको छ ।

प्योङ्याङले सन् २०१९ जनवरीदेखि सन् २०२० नोभेम्बरसम्मको कूल ‘भर्चुअल एसेट’ चोरीको मूल्य करीब ३१ करोड ६४ लाख अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ ।


सम्बन्धित खबरहरु