सरकार – विप्लव वार्ता : ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक’

ओकेखबर संवाददाता २० फाल्गुन २०७७, बिहीबार ०६:५२ मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बुधबार दुई चरणमा वार्ता भएको छ। दुई वर्षदेखि प्रतिबन्धित विप्लव समूहको वार्ता टोलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निम्त्याएर सरकारले वार्ता गरेको हो।

सरकारी वार्ता टोलीसँग बुधबार बिहान र साँझ गरी दुई चरण बस्दा पनि विप्लवका प्रतिनिधि सार्वजनिक भएका छैनन्। विप्लवको वार्ता टोलीका सदस्य मध्यस्थकर्ता नेपबहादुर कुँवरसँगै बालुवाटार पुगेका थिए।

दुवै पक्षका वार्ता टोलीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने समझदारी दोस्रो चरणको वार्ताका क्रममा जुटेको जनाइएको छ। तर, कहिले गर्ने भन्ने विषयमा मोडालिटी तयार पारेपछि मात्र समय तय गरिने भएको छ।

सकभर फास्ट ट्र्याक विधिबाटै वार्तालाई परिणाममुखी बनाउने गरी छलफल केन्द्रित रहेको वार्ता टोलीका एक सदस्यले बताए। दुवै पक्षबीच विषय केन्द्रित रही समान धारणानजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापाले पनि वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएका छन्। गृहमन्त्री थापाले वार्तापछि सामाजिक सन्जालमार्फ त्यस्तो प्रतिक्रिया दिएका हुन्। ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ’, गृहमन्त्री थापाले भनेका छन्, ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक छ, केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ। ’

वार्तामा विप्लव पक्षसँग रहेको हतियार बुझाउनेदेखि वैधानिक आन्दोलनमा आउने विषयमा हस्ताक्षर गर्नुपर्नेसम्मका धारणा सरकारी टोलीले राखेको स्रोतले बताएको छ। विप्लवका प्रतिनिधिले भने प्रतिबन्ध फुकुवा र बन्दी नेता, कार्यकर्ता रिहाइमा जोड दिएको थियो।


सम्बन्धित खबरहरु