कंगनाविरुद्ध वारेन्ट जारी

ओकेखबर संवाददाता १८ फाल्गुन २०७७, मंगलवार ११:१५ मा प्रकाशित ( साल अघि) १००८ पाठक संख्या

मुम्बई । मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले अभिनेत्री कंगना रनावतविरुद्ध वारेन्ट जारी गरेको छ । बलिउडका प्रख्यात गीतकार तथा लेखक जावेद अख्तरको मानहानी मामलामा सुनुवाई गर्दै कोर्टले वारेन्ट जारी गरेको हो ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार गत वर्ष जावेदले कंगनाविरुद्ध मानहानीको निवेदन दर्ता गराएका थिए । कंगनाले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको सन्दर्भमा एक अन्तरवार्तामा बलिउडमा कथित रुपमा गुटबन्दीको चर्चा गर्दै जावेद अख्तरको नाम घुसाएर अपमानजनक टिप्पणी गरेकी थिइन ।

जावेदले कंगनाको यही आरोपविरुद्ध मानहानीको मुद्धा दर्ता गराएका थिए । सोमबारमात्र कोर्टले गीतकारको मामलामा सुनुवाई गरेको हो ।

यसअघि कोर्टले यो मामलाको सुनुवाई फेब्रुअरी १ मा गरेको थियो । त्यो समयमा कंगनालाई कोर्टमा उपस्थित हुन आदेश दिइएको थियो । तर उनी कोर्टमा आइनन् ।

यसपछि कोर्टले यो मामलाको सुनुवाईका लागि मार्च १ को तारिख दिएको थियो र कंगनालाई पुनः कोर्टमा उपस्थित हुन आदेश दिएको थियो । तर यसपटक पनि कंगना कोर्टमा पुगिनन् । कोर्टमा उपस्थित हुन असमर्थता जनाएपछि कंगनाविरुद्ध कोर्टले वारेन्ट जारी गरेको हो ।

सोमबार यो मामलामा सुनुवाई भइरहँदा जावेद समयमा नै कोर्टमा पुगेका थिए । उनका वकिल वृंदा ग्रोवरले बहस गरेका थिए । तर कंगनासँगै उनका वकिल कोर्टमा पुगेनन् ।

कंगनाको जुनियर वकिलले कंगनाको तर्फबाट उनका सिनियर वकिल दिउँसो आउने बताएका थिए । कंगनाका वकिलले भने कंगनाविरुद्ध जारी भएपछि त्यो वारेन्टविरुद्ध उच्च न्यायालय जाने बताएका छन् । यो मामलामा आगामी सुनुवाई २६ मार्चमा हुनेछ ।


सम्बन्धित खबरहरु