दाहाल–नेपालबीच संगठनात्मक संरचनामा यस्ताे सहमति (९ बुँदे मापदण्डसहित)

ओकेखबर संवाददाता ९ फाल्गुन २०७७, आईतवार २१:१६ मा प्रकाशित ( साल अघि) ३३१ पाठक संख्या

काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षबीच संगठनात्मक संरचनामा आधाआधा गर्ने सहमति भएको छ । यसका लागि दाहाल–नेपाल पक्षले ९ बुँदे मापदण्ड तयार गरेको छ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारमा हस्ताक्षर गरेका छन्।

‘प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरूमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने। त्यसो गर्दा सामान्यतया ५० प्रतिशत गुने गरी मिलाउने। पदाधिकारी राख्दा वरिष्ठता सक्रियता र क्षमतालाई ध्यान दिने,’ मापदण्ड र आधारको पहिलो निर्णयमा भनिएको छ।

यी हुन् मापदण्ड र आधारहरु
१. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरूमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने। त्यसो गर्दा सामान्यतया ५० प्रतिशत गुने गरी मिलाउने। पदाधिकारी राख्दा वरिष्ठता सक्रियता र क्षमतालाई ध्यान दिने।

२. समान्यतया पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा ५०/५० प्रतिशत हुने गरी गर्ने, विशेष स्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ।

३. पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरीयतामा अगाडि रहेकालाई प्राथमिकता दिने। वरीयतामा ध्यान दिँदा साविक घटकको सम्बन्धित कमिटी वा संगठनभित्रैबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भए पनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको वरीयताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने।

४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरीयताका आधारमा जिम्मेवारी दिनुपर्ने भए पनि विशिष्ट स्थितिमा स्थानीय आवश्यकताअनुसार प्रदेश कमिटीले निर्णय गर्ने। यसो गर्दा सक्रियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेको अर्को पक्षबाट सिर्जित समस्या समाधान र चुनौतीको सामना गर्नसक्ने कुरातर्फ विशेष ध्यान दिने। प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्मेवारी दिने।

५. पार्टी केन्द्रीय कमिटी सदस्यको स्थान रिक्त रहेका ठाउँमा सदस्यको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिका रुपमा उपयुक्त व्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला या क्षेत्रको जिम्मेवारी दिने।

६. साविक नेकपा (एमाले) पंक्तिमा रोका गुट तथा फुटपरस्तहरुले कार्यकर्ताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्नसक्ने कुरामा विशेष ध्यान दिने।

७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गीय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बन्धित जिल्ला कमिटीले गर्ने। यसरी पूर्ति गर्दा माथि उल्लेख गरिएका मापदण्डअनुरुप गर्ने। संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनसंगठनको विधानअनुरुप सदस्यहरुको मनोनयन गर्ने। त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने।

८. पार्टी पंक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसम्म स्थिति निर्माण हुनसक्ने गरी नेतृत्वको चयन गर्ने कुरामा विशेष ध्यान दिने।

९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने।


सम्बन्धित खबरहरु