वरिष्ठ साहित्यकार दाहालका ‘सयपत्री’ र ‘माला–चिन्तन’ लाेकार्पण

ओकेखबर संवाददाता ५ फाल्गुन २०७७, बुधबार ०९:५० मा प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

धादिङ । धादिङ सिर्जना प्रतिष्ठानका संस्थापक वरिष्ठ साहित्यकार बद्रीप्रसाद दाहालको सयपत्री छन्दकविता र माला–चिन्तन नामक निबन्ध पुस्तक ला‍ेकार्पण गरिएकाे छ ।

मंगलबार धादिङ सिर्जना प्रतिष्ठानको आयोजनामा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना र वरिष्ठ साहित्यकार अर्जुन न्यौपानेले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

साहित्यकार डा. नविनबन्धु पहाडीले लेखक दाहालले माला चिन्तन निबन्धमा सामाजिक विषयवस्तुलाई व्याङ्ग्यात्मक शैलीमा समाजपरक रुपमा विषयवस्तु चित्रण गरेको बताए । डा. पहाडीले भने, ‘जीवनको साङ्गापाङ्गो, जीवनको भङ्गालाहरुमा देखिएको कमिकमजोरीहरु, युगयुगको सन्दर्भहरु जोडिएको र द्वन्द्वको पनि रिफ्लेक्सन  छ
।’

माला–चिन्तनमा समेटिएको ३९ वटा निबन्धमा राजनीति विसंगति देखि लिएर मानिसले कमाउने खेलोहरुमा कस्ता कस्ता काम गर्छन् र समाजका अध्याँरा र उज्याले पाटोहरुलाई देखाउँदै आर्थिक र शैक्षिक आयमका क्षेत्रमा देखा परेका सकारात्मक र विकारका पक्षको उजागार गरेको पाइएकोले पनि पुस्तक अत्यन्तै महत्वपूर्ण भएको डा.पहाडीले बताए ।

त्यस्तैगरि सयपत्री छन्दकविता पुस्तक माथि टिप्पणी गर्दै साहित्यकार विष्णु प्रसाद न्यौपानेले कवितामा नेपाली भूमि, हिमालको काखमा रहेको प्राकृतिक चेतनाको साथसाथै नेपालमा समय सापेक्ष हुँदै गएको सामाजिक परिवर्तन, राजनैतिक परिवर्तन, साँढे छ दशक बिताएको उमेरको अनुभव कवितामा बिसाएको पाइएको बताए । सयपत्रीमा अटाएका ७३ वटा कविताले सिंगो समाजको मार्गनिर्देशन गर्न सक्ने न्यौपानेले टिप्पणी गरे ।

सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख ढुङ्गाना, भाषा बचाउ आन्दोलनका अभियन्ता डा.बलदेव अधिकारी, साहित्यकार अर्जुन न्यौपाने, मानवअधिकारर्की कृष्ण प्रसाद दाहाल, प्रेस यूनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारी र नीलकण्ठ उच्च माविको प्रधानाध्यापक धुर्व थापा, कवियत्री कल्पना अधिकारी लगायतले आफ्ना धारण प्रस्तुत गरेका थिए ।


सम्बन्धित खबरहरु