आज: 

म्यानमारमा सेनाको कदमको विरोध गर्नेलाई २० वर्षसम्मको कैद

ओके खबर ४ फाल्गुन २०७७, मंगलवार ०८:०० मा प्रकाशित ( हफ्ता अघि) १६३ पाठक संख्या

एजेन्सी । म्यानमारको सेनाले शासन सत्ता आफ्नो हातमा लिएको विरोध गर्नेहरुलाई २० वर्षसम्मको जेल सजाय हुनसक्ने चेतावनी दिइएको छ । त्यहाँको सेनाले आफ्नो काममा बाधा गर्नेलाई २० वर्षसम्मको कैद सजाय हुनसक्ने चेतावनी दिएको हो ।

सेनाको कदमको विरोध गर्नेहरुहरुलाई कैदका अलावा जरिवाना लगाइने पनि चेतावनी दिएको छ । सेनाले यसको घोषणा म्यानमारका थुप्रै शहरमा बख्तरबन्द गाडी उतारेपश्चात गरेको बीबीसीले जनाएको छ ।

सेनाको कदमको विरोधमा हजारौंले प्रदर्शन गरिरहेका छन् । उनीहरुले नेतृ आङ सान सू कीलगायत नेताहरुलाई रिहा गर्न माग गरेका छन् । त्यसका साथै पुनः लोकतन्त्र बहाली गर्न पनि माग भइरहेको छ ।

सू कीका वकिलका अनुसार सू कीको हिरासत अवधि दुई दिनका लागि बढाइएको छ । अब उनी म्यानमारको एक अदालतमा हुने सुनुवाइमा भिडियोमार्फट् सहभागी हुनेछिन् ।

बीबीसीका अनुसार सेनाको उपस्थिति बढ्नुले सैन्य कदमको विरोध गर्नेउपर कारबाही हुनसक्ने संकेत गरेको छ । त्यस्तै कानुनमा पनि केही परिवर्तन गरिएको घोषणा भएको छ ।

जसअनुसार सेनाको विरोध गर्नेहरुलाई लामो समयसम्म जेल सजाय तथा जरिवाना हुनसक्ने छ । यस्तो कारबाही उनीहरुलाई गरिने छ जो कुनै तरिकाले सेनाको कदमको विरोधमा छन् ।


सम्बन्धित खबरहरु