आज: 

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, १०२ किलो गाँजासहित पक्राउ

ओके खबर २६ पुष २०७७, आईतवार १२:०५ मा प्रकाशित ( हफ्ता अघि) ६१ पाठक संख्या

काठमाडौं । बारामा शनिबार राति प्रहरी र लागुऔषध गाँजा तस्कर गर्ने समूहबीच गोली हानाहान भएको छ।

राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि गाँजा तस्करीमा संलग्न ८–१० जनाको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको गस्ती टोलीलाई तस्करको समूहले देख्ने बित्तिकै गोली चलाएका थिए।

त्यसपछि प्रतिकारका क्रममा प्रहरीले पनि ठूलो चाइनिज पेस्तोलबाट पाँच राउण्ड गोली चलाएको थियो। निजगढ नगरपालिका(१३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागुऔषध गाँजा ओसारपसार खरिद बिक्री भइरहेको थियो।

प्रतिकारका क्रममा प्रहरीले पनि गोली चलाएपछि उनीहरू गाँजा छोडेर भागेका थिए। यस क्रममा गस्तीमा रहेको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई नियन्त्रणमा लिएको छ।

घटनास्थलबाट पाँचवटा सेतो बोराभित्र लुकाइछिपाइ राखेको १०२ किलो लागुऔषध गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र उक्त समूहका अन्यको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु