९ एसएसपी डीआईजीमा बढुवा सिफारिस, काे काे परे ?

ओकेखबर संवाददाता १३ पुष २०७७, सोमबार २२:४५ मा प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले जनपदतर्फ नौ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिसमा पर्नेहरूमा एसएसपी गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् । डीआईजीका लागि २४ जना एसएसपी दौडमा थिए ।

३ मंसिरको मन्त्रिपरिषद्ले प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप्ने निर्णय गरेको थियो । थपिएको एआईजी पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेललाई १५ मंसिरमा गृह मन्त्रालयले बढुवा गरिसकेको छ । सोमबार चार रिक्तसहित पाँच डीआईजीको बढुवा सिफारिस गरिएको हो । योसँगै नेपाल प्रहरीमा डीआईजीको संख्या १९ पुगेको छ ।


सम्बन्धित खबरहरु