राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना निर्माण कार्य अन्तिम चरणमा

ओकेखबर संवाददाता ११ पुष २०७७, शनिबार ११:४० मा प्रकाशित ( साल अघि) ३७६ पाठक संख्या

काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङ खण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्ड अन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।

बागलुङखण्ड अन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल लगाउने र माटो पन्छाउने काम मात्रै बाँकी छ ।

करिडोर फराकिलो भएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोरला पुग्न सवारी साधनलाई सहज हुनेछ । सेनाको निर्माण कार्यदलले बागलुङ र गुल्मीको समेत गरी ३८ किलोमिटर सडक फराकिलो बनाउनका लागि चालू आर्थिक वर्षमा रु १८ करोड २५ लाख रुपैयाँमा जिम्मेवारी पाएको थियो ।

भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३४५ किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको आयोजनाले जनाएको छ । करिडोरको गुल्मी खण्डमा कालोपत्रको कामसमेत शुरु भएको छ ।


सम्बन्धित खबरहरु