ब्रिटेन र युरोपेली संघबीच ब्यापार सम्झौतामा सहमति

ओकेखबर संवाददाता १० पुष २०७७, शुक्रबार ०७:३१ मा प्रकाशित ( साल अघि) ३८० पाठक संख्या

एजेन्सी । युरोपेली संघ र ब्रिटेनबीच लामो समयदेखिको विवादलाई अन्त्य गर्दै एक व्यापार सम्झौतामा सहमति भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलन गर्दै युरोपियन युनियन र ब्रिटेनबीच ब्यापारिक सहमति भएको जानकारी दिएका हुन ।

यो सम्झौतापछि पनि आफनो कानून र भविष्यमाथि पुनः नियन्त्रण कायमै राखेको उनले बताएका छन । प्रधानमन्त्री जोनसले यो सहमति समग्र यूरोपका लागि फलदायी भएको बताएका छन् ।

‘हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ’, पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘समग्र युरोपका लागि एउटा राम्रो सम्झौता भएको छ ।’

यूरोपेली संघबाट औपचारिक रुपमा अलग भएको एक वर्षपछि बेलायत ईयूको व्यापार नीतिबाट आगामी बिहीबारदेखि बाहिरिँदैछ । यो सम्झौतापछि बेलायत र ईयूको छुट्टाछुटेै बजार हुने र एक अर्काबीच स्वतन्त्र आवागमनको अन्त्य हुनेछ । यद्यपि सहमतिका बुँदा भने सार्वजनिक भएका छैनन् ।

बेलायतको व्यापारका लागि यसलाई महत्वपूर्ण मानिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री जोनसनले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको सम्झौता गरेको बताएका छन् । ‘हामीले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको सबैभन्दा ठूलो सम्झौता गरेका छौँ ।’

सम्झौताले ब्रिटिश कम्पनीहरुलाई युरोपेली ब्यापारिक संस्थासंग अझ बढी व्यापार गर्न सहयोग पुग्ने प्रधानमन्त्री जोनसनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।


सम्बन्धित खबरहरु