५ महिनामा साढे ७ अर्बको सुन आयात

ओकेखबर संवाददाता १० पुष २०७७, शुक्रबार ०६:५७ मा प्रकाशित ( साल अघि) ३०३ पाठक संख्या

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको आयात मङ्सिरसम्म आउँदा भने बढेको छ ।

चालू आवको पहिलो त्रैमास अर्थात् असोजसम्म १०० केजी मात्र सुन आयात भएको थियो । तर, मङ्सिरसम्म आउँदा १ हजार केजीभन्दा बढी सुन आयात भइसकेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार चालू आवको पहिलो ५ महिनामा १ हजार ५० केजी सुन आयात भएको छ । कात्तिक शुरू भएदेखि सुनको आयात बढेको तथ्यांकले देखाउँछ ।

दशैं तिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको सिजन भएका कारण उक्त समय सुनको आयात बढेको हो । कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्प जस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो ।

तर, पछिल्लो समय विवाहको सिजनका कारण मूल्य बढी भए पनि सुनको माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ तथ्यांकअनुसार कात्तिकमा ४०० र मङ्सिरमा ५५० केजी सुन आयात भएको छ ।

गत आवको सोही अवधिमा १ हजार २५० केजी सुन आयात भएको थियो । अहिले त्योभन्दा १६ प्रतिशत अर्थात् २०० केजी कम सुन आयात भएको छ । पुसदेखि सुनको आयात कम हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘अब यो वर्ष विवाहको लगन छैन, अहिलेदेखि नै माग शून्यमा झरिसकेको छ । त्यसअनुसार अब सुनको आयात कम हुन्छ,’ उनले भने, ‘आगामी वैशाखमा हुने विवाहको सिजनलाई लक्षित गरेर चैतमा भने बढी मात्रामा सुन आयात हुन सक्छ ।’

परिमाणका आधारमा सुनको आयात घटे पनि रकम भने बढेको छ । रकमको आधारमा सुनको आयात १० दशमलव ८७ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । –आर्थिक अभियान


सम्बन्धित खबरहरु