नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

ओकेखबर संवाददाता १० पुष २०७७, शुक्रबार ०६:१७ मा प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ ।

उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली शान्ति सैनिकको मद्दत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको जानकारी दिइएको छ । त्यहाँ तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारेको थियो ।

उक्त घटना पश्चात विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको बताइएकोछ । कारवाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेको नेपाली सेनाले जनाएको छ ।

आगामी आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व शुरु भएको हो । पछिल्ला दिनमा सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि उक्त निर्वाचन अनिश्चित बन्दै गएको छ । त्यहाँको अवस्थाको आँकलन गरी विपक्षी राजतीतिक दलहरुले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारसँग अनुरोध गरेका छन् ।


सम्बन्धित खबरहरु