कप्तान मल्लसहित तीन क्रिकेटर कोरोना संक्रमित

ओकेखबर संवाददाता १० मंसिर २०७७, बुधबार २०:४३ मा प्रकाशित ( साल अघि) ६६८ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसहित तीन जना खेलाडी कोरोना संक्रमित भएका छन् । विहीबारदेखि शुरुहुने बन्द प्रशिक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो ।

 

नेपाल क्रिकेट संघ क्यानले बुधबार दिएको जानकारी अनुसार तीन जना खेलाडी र एक जना स्टाफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र अर्का खेलाडी रोहित पौडेलका साथै स्टाफ प्रदीप लामा संक्रमित भएका हुन् ।

कोरोना महामारीका कारण ठप्प भएका क्रिकेट गतिविधि सञ्चालन गर्नका लागि बन्द प्रशिक्षण शुरु गर्न लागिएको थियो । अहिले नै नेपाली टिमले खेल्ने अन्तर्राष्ट्रिय कुनै सिरिज नभएपनि खेलाडीहरु घरमै बस्दा खेलस्तर खस्कने भन्दै उनीहरुलाई क्यानले बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको हो । प्रशिक्षण विहीबार देखि शुरु गर्ने क्यानले जनाइसकेको छ ।

बुधबार देखि नै शुरु गर्ने तयारी गरिए पनि पीसीआर रिपोर्ट सार्वजनिक नभएकाले शुरु गर्न सकिएको थिएन । अब सबैको रिपोर्ट आएको बताउँदै क्यानका सचिव अशोकनाथ प्याकुरेलले विहीबारदेखि कोरोना रिपोर्ट नेगेटिभ आउने खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने बताए ।

यसैगरी मंगलबार कोरोना परीक्षण नगराएका खेलाडीहरुलाई परीक्षण गराएर मात्रै टिममा सहभागी गराइने छ । क्यानले बन्द प्रशिक्षणका लागि थप ५ जना खेलाडी थप गरेको छ । उनीहरुको पनि अब पीसीआर परीक्षण गरिने छ । नेपाली टिममा बिक्रम शोब, अनिल सा, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमलाई नेपाली टिमको बन्द प्रशिक्षणमा सामेल गरिएको हो ।


सम्बन्धित खबरहरु