सुत्केरीको ज्यान गएपछि अस्पतालमा तोडफोड

ओकेखबर संवाददाता ८ मंसिर २०७७, सोमबार ०८:०९ मा प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

काठमाढौं । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ। साथै पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्।

सुत्केरी व्यथा लागेपछि प्रसूति गराउन शनिबार साँझ सो अस्पताल भर्ना गरिएकी सिरहाको सुखीपुर नगरपालिका–९ वैशाखा निवासी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले लहानस्थित डिभाइन हेल्थ केयरमा आज तोडफोड गरेका हुन् ।

शल्यक्रियाका क्रममा आरतीको मृत्यु भएपछि चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारीसमेत फरार भएका छन्। सुत्केरीको मृत्यु भए पनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ।

लापरवाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाहीको माग गर्दै आफन्तजनले आरतीको शवसमेत शल्यक्रिया कक्षबाट उठाउन दिएका छैनन् । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतकका श्रीमान् प्रमोद साहले बताए ।

चिकित्सककै लापरबाहीका कारण आरतीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही नभए शव नउठाउने मृतक परिवारको भनाइ छ ।


सम्बन्धित खबरहरु