ट्रम्प अमेरिकी इतिहासकै गैरजिम्मेवार राष्ट्रपतिः बाइडेन

ओकेखबर संवाददाता ५ मंसिर २०७७, शुक्रबार ०९:१८ मा प्रकाशित ( साल अघि) ३५५ पाठक संख्या

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्प अमेरिकी इतिहासकै गैर जिम्मेवार राष्ट्रपति भएको आरोप लगाएका छन् ।

उनले ट्रम्पले चुनाव हारेको स्वीकार नगरेकोमा निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको टिप्पणी गरेका छन् । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् ।

बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन् ।

कोरोनाभाइरस संकटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन् । र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ ।’

गत ३ नोभेम्बरमा भएको निर्वाचनमा ट्रम्प पराजित भए पनि उनले हालसम्म हार स्वीकार गरेका छैनन् । विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन् ।

उनले आफ्नो रणनीति परिवर्तन गर्न ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाएर छलफल गर्न थालेका छन् । मिसिगनका रिपब्लिकन विधायकहरूलाई शुक्रवार उनलाई भेट्न भनिएको छ ।

तर उनले अपनाएका हरेक प्रयासले नतिजा आफ्नो पक्षमा ल्याउन असफल देखिएका छन् ।

बाइडनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका छन् भने अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी ३०६ इलेक्टरल भोट पाइसकेका छन् । सबै राज्यले आगामी केही साताभित्र सबै मतलाई प्रमाणिकरण गरिसक्ने ठानिएको छ । तर राज्य अनुसार समयतालिका फरकफरक छ ।

मत प्रमाणित भएर आइसकेपछि ट्रम्पले त्यसलाई उल्ट्याउने सम्भावना न्यून हुन्छ ।


सम्बन्धित खबरहरु