किन गरिन्छ कागको पूजा ? यस्तो छ धार्मिक मान्यता

ओकेखबर संवाददाता २८ कार्तिक २०७७, शुक्रबार ०८:२५ मा प्रकाशित ( साल अघि) ९१४ पाठक संख्या

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाईदैछ । यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइन्छ ।

काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु भएको छ । आजदेखि भाइटीकासम्म नेपालीले दशैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् ।

तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । शुक्रबार अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई मीठा परिकार दिएर मनाइँदैछ । दसैंको १५ दिनपछि काग तिहारबाटै सुरू हुन्छ दीपावली ।

यमराजले मानिसको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठा परिकार खुवाएर खुसी पार्ने गरिन्छ ।

घर छेउमा आएर काग कराएमा शुभ बोल्, शुभ बोल् भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ।

”काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास रही आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


सम्बन्धित खबरहरु