‘अन्तिम इच्छा के छ ?’

निश्चल आचार्य १३ कार्तिक २०७७, बिहीबार १२:२४ मा प्रकाशित ( साल अघि) ७६६ पाठक संख्या

श्वासको प्रश्न

मेरा आँखा अगाडी तम्सिएका निर्दोष खुकुरीहरु मलाई चियाइरहेका थिए ,

डेक्चीमा बसालेका तातो पानीको बाफले मेरो विश्वासलाई पखालीरहेको थियो ,

बादल ठोक्किएर निस्कने ध्वनि जस्तै गरि मेरो मन ती खुकुरीका धारमा ठोक्किएर निस्कने आवाज ती कुरिरहेका थिए ,

अनि निर्मल निर्दोष मेरा यी आँखा मा आँखा जुधाई सोधिरहेका थिए , अन्तिम इच्छा के छ ?

 

कृपया मेरो श्वासमा खुकुरीको धार नतेर्साइदिनु होला !

मेरा आँखा अगाडी भक्भक् उम्लिरहेका ती पानी जस्तै मेरा आँखा भित्र उम्लिरहेका थिए मेरा डर पनि ,

बेसारको पहेँला रङ्ग मेरो आँखाले काला देखिरहेका थिए ,

खुसिले चिच्याइरहेका ती केटाकेटीसँगै मेरो कानले सुनिरहेका थिए मेरा सन्तानका चित्कार पनि ,

राता ताता मेरा यी रगत थाप्न ल्याइएका बाटा पनि कामिरहेका थिए ,

धर्मका बारेमा फुक्ने पण्डित बाजे पनि मेरा यी रगत चाट्न ठाडो घाँटी पारिरहेका थिए ,

अनि मलाई पाँच वर्ष मायाको नाममा डाम लगाउने साउ आएर सोधिरहेका थिए ” अन्तिम इच्छा के छ ?”

 

कृपया मेरो श्वासमा खुकुरीको धार नतेर्साइदिनु होला !

उदाउँदै गरेको सूर्यको प्रकाशले मलाई घेरिरहेको थियो ,

मेरा चेहेरामा बगेका काला डरले मलाई पोलिरहेको थियो ,

उडिरहेको हावा अडिएर मलाई एकोहोरो हेरिरहेको थियो ,

चारैतिर लडिरहेका ती जीवित लास गनाएर मेरो श्वास अड्किरहेको थियो ,

अनि ती दुर्गन्ध मलाई आएर सोधीरहेको थियो , ” अन्तिम इच्छा के छ ? ”

 

कृपया मेरो श्वासमा खुकुरीको धार नतेर्साइदिनु होला !

आस्थाका सटर भित्र मलाई काट्न किंवदन्तीका पाना पल्टिदै थिए ,

सुरुप्प थुक निल्दा आत्तिएका अङ्गहरु झसङ्ग पर्दै थिए ,

कामिरहेका बाटासँगै यी फाट्दै गएका मन पनि तनसँग काम्दै थिए ,

डरले मूर्छित् श्वास रुद्रघण्डीको छेउमा गाठो पर्दै थिए ,

आगोको ज्वाला दन्दनि आँखा अगाडी बल्दा सपनीमा खरानीका धुला उड्दै थिए ,

अनि बिपनी मलाई आएर सोधिरहेको थियो , ” अन्तिम इच्छा के छ ? ” ।

 

कृपया मेरो श्वासमा खुकुरीको धार नतेर्साइदिनु होला !

साउको मनले तानेको अहंकार विणीको धुँवाले मेरो फोक्सो सडिरहेको थियो ,

मेरा हात खुट्टा समाएर राख्दा जीवनले अन्तिम श्वास फेरिरहेको थियो ,

मात्र एउटा प्रश्नवाचक चिह्न लागिरहेको थियो ,

जब यी श्वास छिन्न लागिरहेको थियो ,

” मलाई अन्तिम इच्छा किन सोधियो ? ”

रचनाकार निश्चल आचार्य साहित्य क्षेत्रमा कलम चलाउछन् ।


सम्बन्धित खबरहरु