अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

ओकेखबर संवाददाता ११ कार्तिक २०७७, मंगलवार ०८:२८ मा प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छिन् । राष्ट्रपति निर्वाचन अगावै डोनाल्ड ट्रम्पले सिफारिस गरेकी ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी हुन् ।

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनले ५२–४८ मतमार्फत ब्यारेटलाई न्यायाधीश नियुक्तिका लागि अनुमति दिएका हुन् । ४८ वर्षीया ब्यारेटलाई ह्‌वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण गराउने छन् ।

रिपब्लिनक पार्टीद्वारा एक कार्यकालमा नियुक्त गरिएकी ब्यारेट तेस्रो न्यायाधीश हुन् । सन् २०१७ मा निल गोरसच र सन् २०१८ मा ब्रेट काभानुग न्यायाधीश नियुक्त भएका थिए ।  एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत भएको छ ।

सोसल कन्जरभेटिककी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका थिए । ह्‌वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अतुलनीय उपलब्धि हाँसिल गर्ने महिलाको संज्ञा दिएका थिए ।

माथिल्लो सदनले उनको नाम नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिएकी छिन् ।

डेमोक्रेटहरुले निर्वाचनअघि खाली भएको न्यायाधीशको नियुक्ति चुनावपछि मात्रै गर्नुपर्ने बताउँदै आएका थिए । तर, राष्ट्रपति ट्रम्पले भने चुनावअघि नै उनको सुनुवाइ हुनुपर्ने बताएका थिए । चार वर्षअघि सन् २०१६ मा भने चुनावभन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा पनि सिनेटमा रिपब्लिकन नेताहरुले चुनाव हुने वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदै छ । डेमोक्रेटिक उमेद्वार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म रिक्त न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गरेका थिए । संविधानले जनतालाई अदालतमा को न्यायाधीश बन्‍ने भन्‍ने निर्यण गर्ने अधिकार दिएकाले त्यसको सम्मान गरिनु पर्ने बाइडेनले बताएका थिए ।

त्यसका बाबजुद पनि ट्रम्पले प्रक्रिया अघि बढाउन आग्रह गरेपछि माथिल्लो सिनेटले कोनीलाई नियुक्त गरेको हो ।

अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने बिबिसीले जनाएको छ ।


सम्बन्धित खबरहरु