जब मार्क जुकरवर्ग आफैंले फेसबुककाे राजनीति बुझ्न थाले

वाल स्ट्रिट जर्नल १० कार्तिक २०७७, सोमबार १८:११ मा प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

आफ्नो छोटो समयमा नै फेसबुक विश्वभरि व्यापक प्रभाव पार्न सक्ने शक्ति बन्यो। त्यतिबेला यसका सञ्चालक मार्क जुकरवर्ग भने आफू राजनीतिबाट टाढै बस्ने प्रष्ट सन्देश दिन्थे। सुरूवाती चरणमा उनका सल्लाहकारहरूले वासिङ्टन डिसीका कानुन निर्माताहरूका कुरा सुन्न सुझाव दिन्थे। तर, जुकरवर्ग पटकपटक आफू राजनीति अरूका लागि छोडिदिनु मै खुसी रहेको बताउँथे ।

धेरै लामो समय नबित्दै आज जुकरवर्ग राजनीतिको केन्द्रमा आइपुगेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्पलाई अवज्ञा गरेका छन्। ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार ज्यारेड कुश्नरसँग नियमित छलफलमा हुन्छन्। साथै, उनले टिकटक र एप्पलजस्ता आफ्ना प्रतिस्पर्धी कम्पनीलाई छानबिनको दायरामा ल्याउन दबाव समेत बनाएका छन्।

जुकरवर्गले आफ्नो कम्पनीलाई विभिन्न दबाबबाट बचाउन यी राजनीतिक कदम चालेका हुन्। यस्ता दबावमा आन्ध्र महासागरका दुवै तर्फबाट हुने कानुनी छानबिनदेखि लिएर व्यक्तिगत गोपनीयताबारे फेसबुकको अभ्यासमाथिको आलोचनासम्म पर्छन्। साथै, व्यक्तिगत सूचनाको व्यवस्थापनमा भएका कमजोरी र यससँग जोडिएका षड्यन्त्रका सिद्धान्तबाट बचाउनसमेत उनी राजनीतिसँग नजिक भएका हुन्।

चीनको बाइटडान्स लिमिटेडले सञ्चालनमा ल्याएको टिकटक लगायतबाट फेसबुकले चुनौति सामना गरिरहेको छ। सामाजिक सञ्जालमा आफ्नो वर्चश्व बनाइराख्न राजनीतिक नेतृत्व, सञ्चारकर्मी र अभियन्तासँगको सम्बन्ध फेसबुकका लागि अहिले झनै महत्वपूर्ण भएको छ।

सन् २०१६को राष्ट्रपति निर्वाचनसम्बन्धि सबै काम उनले आफ्ना सहयोगीहरूलाई छोडिदिएका थिए। यसवर्षको निर्वाचनसँग सम्बन्धित फेसबुकको नीति बनाउने काम भने उनले आफ्नै हातमा लिएका छन् । उनी नियमित रूपमा ‘कन्जरभेटिभ’ विचारकहरूसँग छलफल गरिरहेका छन्। राजनीतिसँग सम्बन्धित विज्ञापन र प्रयोगकर्ताका पोस्टहरूसम्बन्धि यस्ता नीतिहरू विवादास्पद पनि बनेका छन्। वर्तमान राष्ट्रपति ट्रम्प र राष्ट्रपतिका उम्मेदवार जो बिडेनसहित कतिपय रिपब्लिकन र डमोक्र्याट्सहरूले मात्रै होइन कम्पनी भित्रै पनि यी नीतिहरूको आलोचना भइरहेको छ।

सन् २०१६मा २८ बिलियन अमेरिकी डलरभन्दा कम रहेको फेसबुकको आम्दानी ७० बिलियन डलरभन्दा माथि पुग्दासम्म यस्तो राजनीतिक विवाद सतहमा आएको थिएन।

दुई वर्षअघि जुकरवर्गले कम्पनीको वैश्विक नीति तथा सञ्चार प्रमुखका रूपमा फेसबुक भित्र्याएका बेलायतका पूर्व उप-प्रधानमन्त्री निक क्लेगका अनुसार सिईओ जुकरवर्ग एक साताअघिसम्म राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने नयाँ नीति बनाउने काममा गम्भीर रूपमा सहभागी थिए। जुकरवर्गले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

यही महिना फेसबुकले मतदानको दिन मतदान सकिनेबित्तिकै सबै प्रकारका राजनीतिक विज्ञापन निलम्बन गर्ने जानकारी गराएको थियो। साथै, मतदान पर्यवेक्षणसम्बन्धि पोस्टमा ‘सैन्य भाषा प्रयोग भए वा डर देखाउने, नियन्त्रणको प्रयास गर्ने वा शक्ति प्रदर्शन गर्ने’ पोस्टहरूलाई सीमित गर्ने बताएको थियो। फेसबुकले यसै साता आफ्नो लामो समयदेखिको नीति परिवर्तन गर्दै दोस्रो विश्वयुद्धमा भएको यहुदी नरसंहार (होलोकस्ट)लाई अस्वीकार गर्ने पोस्टहरूमाथि प्रतिबन्ध लगाएको छ। साथै, भ्याक्सिनविरोधी सन्देश प्रवर्द्धन गर्ने विज्ञापन पनि ब्लक गर्ने जनाएको छ।

बुधबार फेसबुक र ट्वीटर दुवैले राष्ट्रपतिका उम्मेदवार जो बिडेन र उनका छोरा हन्टरमाथिको आरोप सम्बन्धी लेखरचना शेयरमा पनि सीमितता ल्याएका छन्। बिडेनले आफ्नो अभियानमा यो आरोप अस्वीकार गर्दै आएका छन्। न्यूयोर्क पोस्ट न्यूज कर्पको प्रकाशन हो। यो कम्पनी वाल स्ट्रिट जर्नलको प्रकाशक डो जोन्स एन्ड कम्पनीको ‘प्यारेन्ट’ कम्पनी हो । न्यु योर्क पोस्टले सम्पादकीय मार्फत फेसबुक र ट्वीटरको यो कदमको भर्त्सना गरेको छ र आफ्नो समाचारको सत्यताबारे कुनै विवाद नरहेको दाबी गरेको छ।

जुकरवर्गको यो विकासक्रमले कलेजमा आधारित समाजिक सञ्जालबाट अमेरिकी राजनीतिक प्रणालीको केन्द्रमा आइपुग्दाको फेसबुकको विकासक्रम पनि देखाउँछ। अहिले फेसबुक अमेरिकाका दुवै राजनीतिक दलका लागि शक्ति अभ्यास गर्ने थलो बनेको छ। गएका चार वर्षमा सामाजिक सञ्जालमा प्रभूत्व जन्माएको विशाल कम्पनीको प्रभावलाई लिएर सबै पाटोमा गम्भीर छानबिनका कारण जुकरवर्गका लागि राजनीतिक बुद्धिमता बढाउनु अनिवार्य भएको हो ।

व्यापक पहुँच र अभिव्यक्ति स्वतन्त्रतामा जोडका कारण एक समय फेसबुक गलत सूचना, घृणा फैलाउन सन्देश, आतंकवादी प्रचारबाजी र अरू यस्ता सामग्री फैलने माध्यम बन्यो। यसलाई नियन्त्रण गर्न अहिलेसम्म यसले संघर्ष गरिरहेको छ।

एकातिर जुकरवर्गले फेसबुकका बाम झुकाव भएका कर्मचारीलाई आफ्ना अधिकांश प्रयोगकर्ता ‘कन्जरभेटिभ’ भएको वास्तविकता बुझ्नुपर्ने पाठ पढाउने गरेका छन् । अर्कातिर राष्ट्रपति ट्रम्पको ट्वीट डिलिट गर्ने निर्णयको बचाउ पनि गरेका छन्। फेसबुकका कतिपय कर्मचारीले ट्रम्पको ट्वीट डिलिट गर्नु फेसबुकको नीति विपरीत भएको तर्क गरेका थिए।

जुकरवर्गको अडानले प्रतिबद्ध डेमोक्र्याट्सदेखि नागरिक अधिकार अभियन्ता तथा कम्पनीकै कतिपय निराश भइरहेका कर्मचारीलाई अलग्याएको जानकारहरू बताउँछन्। ‘चिफ अपरेटिङ अफिसर’ शेरिल स्यान्डबर्ग यसैमध्येकी एक हुन्। तर स्यान्डबर्गले यस विषयमा कुनै टिप्पणी गर्न मानिनन्।

बिडेनका अभियान व्यवस्थापकले गत महिना जुकरवर्गलाई एउटा पत्र पठाए, जुन पत्र यस वाल स्ट्रिट जर्नललाई पनि प्राप्त भएको थियो। उनले फेसबुकले मतदान प्रक्रियाको बारेमा सबैभन्दा धेरै अफवाह फैलाएको भन्दै यो पत्र लेखेका थिए। बिडेनले आफू कहिल्यै जुकरवर्गको ठूलो ‘फ्यान’ नभएको अभिव्यक्ति समेत दिएका थिए।

‘फेसबुकले कुनै एउटा राजनीतिक दलविरूद्ध अर्को दललाई सहयोग गर्छ भन्ने आरोप असत्य छ,’ फेसबुकका प्रवक्ताले प्रष्टिकरण दिएका छन्। साथै, फेसबुकको निर्वाचनसम्बन्धी इमान्दारी र नागरिकसँग जोडिनुको मुख्य कडी जुकरवर्ग नै रहेको पनि बताएका छन्।

‘फेसबुकसँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि स्पष्ट नियम हुनु जरूरी छ भन्नेमा मार्क जुकरवर्गको प्रष्ट विश्वास छ र यसलाई हामीले निष्पक्ष रूपमा कार्यान्वयन गरिरहेका छौं,’ ती प्रवक्ताले भनेका छन्, ‘कम्पनीको सिईओको रूपमा उहाँले नीतिगत विषयमा काम गरिरहनु भएको छ र यसका लागि डेमोक्र्याटिक र रिपब्लिकन नीति निर्माता तथा राजनीतिक वृत्तका अन्य पक्षसँग छलफल गरिहनु भएको छ।’

बिडेन र ट्रम्प दुवैले निर्वाचन अभियानमा फेसबुक विज्ञापनका लागि व्यापक लगानी गरिरहेका छन्। ट्रम्पको अभियानले जुकरवर्गलाई अन्य प्रविधि कम्पनीका सिईओभन्दा व्यवहारिक व्यक्तिका रूपमा बुझ्ने गरेको छ। तर, उनीहरूले फेसबुकका नीतिहरूको तीक्ष्ण आलोचना पनि गरिरहेका छन्। ‘सिलिकिन भ्यालीका अन्य माफियाजस्तै फेसबुक पनि आफू सत्य र असत्यको निर्णयकर्ता भएको र चुनावको निर्णायक रहेको भ्रममा छ,’ ट्रम्प अभियानका प्रवक्ता समन्था जगर भन्छिन् । फेसबुकले ट्रम्प र कन्जरभेटिभको अभियानसम्बन्धी सामग्री बढ्दो रूपमा सेन्सर गरिरहेकोमा उनले असन्तुष्टि पनि जनाएकी छन्।

सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका अनुसार ९० बिलियनका मालिक जुकरवर्गले केही रिपब्लिकन र डेमोक्र्याट्सका सीमित मुद्दा र व्यक्तिलाई सहयोग पुर्‍याएका छन्। तर, जुकरवर्गसँग नजिक रहेका केही व्यक्ति भने उनको एकमात्र पार्टी फेसबुक रहेको दाबी गर्छन्। वर्षौंसम्म उनको अडान एउटै कुरामा छ- अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ र सन्तुलित फेसबुक यो संसारका लागि राम्रो छ। उनका सार्वजनिक अभिव्यक्ति र उनीसँग नजिक रहेका व्यक्तिको अनुभवबाट पनि यसको पुष्टि हुन्छ। सँगसँगै उनको बढ्दो राजनीतिक सचेतताले पनि उनको दृष्टिकोणलाई माझिरहेको छ।

जुकरबर्ग र उनकी श्रीमतीले ४०० मिलियन अमेरिकी डलर गैर नाफामुलक संस्थालाई दिएका छन्, जुन स्थानीय सरकारलाई निर्वाचन खर्चका लागि दिइएको हो। यो पैसा निर्वाचनका लागि आवश्यक जनशक्ति, व्यक्तिगत सुरक्षा सामग्री खरिद र मतदानसँग सम्बन्धित सूचना ठीकसँगले प्रवाह गर्न खर्च हुने छ। कन्जरभेटिभहरूले सार्वजनिक प्रयोजनका लागि व्यक्तिगत पैसाको प्रयोग रोक्न प्रयास गरिरहेका छन्। यता कतिपय ‘लिबरल’ले पनि फेसबुकमार्फत प्रयोगकर्तासमक्ष निर्वाचनसम्बन्धि भ्रामक सूचना पुग्ने क्रम बढिरहेको बेला उनको यो कदमलाई ढोंगको उपमा दिएका छन्।

जुकरवर्ग हावर्डको विद्यार्थी हुँदैदेखि चिन्नेहरू उनलाई ‘सेन्टर-लेफ्ट’ भन्छन्, जहाँ उनले सहायक संस्थापकको रूपमा सन् २००४मा फेसबुक सुरू गरेका थिए। त्यस वर्षको राष्ट्रपति निर्वाचनमा जर्ज डब्लु. बुस विजयी हुन्छन् भन्ने कुराले उनलाई चिन्तित तुल्याएको थियो। उनले अन्तिम हप्ताका चुनावी गतिविधि नजिकबाट नियालेको त्यसमध्ये एकजनाले बताए।तर, उनी राजनीतिक व्यक्ति थिएनन्। फेसबुक सुरू भएको केही वर्षपछि राजनीतिक सल्लाहकारहरूले उनलाई भेटे र उनको दृष्टिकोणले कसरी कम्पनीको नीति निर्धारण गर्छ भन्ने बारे छलफल गर्न खोजे। उनीहरूले अमेरिकाका राजनीतिक शक्तिहरू डेमोक्र्याट्स र रिपब्लिकनबीचको भिन्नताबारे बताए।

अन्त्यमा जुकरवर्गले आफूलाई कुनै पार्टीको पक्षधर भन्दा पनि उदारवादी रहेको सन्देश दिए। ‘उनी पूर्णरूपमा गैर-राजनीतिक थिए,’ फेसबुकका प्रथम तथा सन् २०११ सम्मका सार्वजनिक नीति निर्देशक तथा प्रविधि अधिवक्ता टिम स्प्यारपनि, जो कम्पनीका वर्तमान नीतिहरूका आलोचक पनि हुन्,’ भन्छन्, ‘उनका राजनीतिक दृष्टिकोणहरू पछि बाहिरबाट प्रवेश गरेका हुन्।’

फेसबुकको सार्वजनिक नीति हेर्ने समूहलाई बिल क्लिन्टन राष्ट्रपति छँदा एक कार्यकाल उनको प्रशासनिक एकाइमा काम गरेकी शेरिल सेन्डवर्गले नेतृत्व गर्छिन्। उनी सन् २००८मा फेसबुक प्रवेश गरेकी हुन्। यही समूहले अमेरिका र विश्वभरिका नीति निर्मातासँगको सम्पर्क र सम्बन्ध हेर्छ।

फेसबुकको सुरूवाती वर्षहरूमै जुकरवर्ग आप्रवासन व्यवस्थापनमा केन्द्रित भए र यसैका लागि सन् २०१३मा उनले सह-संस्थापकका रूपमा फर्वाड युएस नामको गैरनाफामुलक संस्था खोले।

राजनीतिबाट टाढै बस्ने उनको सोच सन् २०१६को निर्वाचनमा ट्रम्प विजयी भएपछि परिवर्तन भयो। भ्रामक छद्म समाचार तथा लेखरचना र अरू गलत सूचना नियन्त्रण गर्न असफल भएको भन्दै उनले ठूलो आलोचनाको सामना गर्नुपर्‍यो । कतिपय आलोचकले अमेरिकी समाजको विभाजनलाई फेसबुकले अझ फराकिलो बनाएको र केहीवर्ष यता रंगभेदलाई प्रवर्धन गर्ने विचार अझ विषाक्त हुँदै गएको टिप्पणी गरे।

‘२०१६मा जे भयो त्यसले यो चार वर्षलाई नराम्ररी प्रभावित पार्‍यो,’ क्लेज भन्छन्, ‘फेसबुकमाथि गुडिरहेको पाँग्रामाथि मस्तले सुतेको आरोप लाग्यो।’ र, यसलाई परिवर्तन गर्न जुकरवर्ग प्रतिबद्ध भएर लागिपरे।

यसमा फेसबुकले काम गरिरहेको छ भन्नेमा आश्वस्त पार्न जुकरवर्ग आफैं सार्वजनिक रूपमा प्रस्तुत हुन थाले। आफ्ना दृष्टिकोणहरू अरू समक्ष राख्न र अरूका दृष्टिकोण बुझ्ने प्रयास गर्न थाले। सन् २०१७मा अमेरिकाका ३० राज्य अरूको विचार सुन्नकै लागि भ्रमण गरे। सन् २०१८मा राजनीतिक अभियानहरूबीच उनले आफ्नो यात्रालाई निरन्तरता दिए।

सन् २०१८मा व्यक्तिगत विवरणको गोपनीयता नियन्त्रण सम्बन्धमा जवाफ दिन उनी पहिलो पटक अमेरिकी संसदमा उपस्थित भए। २०१९मा उनले श्रृङ्खलाबद्ध रूपमा बुद्धिजिवी र अरू कार्यकारीसँग समाजमा प्रविधिको भूमिकाबारे छलफल आयोजना गरे। नेपथ्यमा अभिव्यक्ति स्वतन्त्रतालाई महत्व दिने नीतिमा अझ जोड दिँदै फेसबुकलाई कसरी विभाजनकारी बन्न नदिने भनेर काम गरिरहे।

कतिपय डेमोक्र्याटिक अधिकारीहरूले वर्तमान राजनीतिक बहसलाई वेवास्ता गर्दै भ्रामक सूचनामा धेरै चासो देखाए। उनीहरूले सामाजिक सञ्जालमा अभिव्यक्तिमा लगाम लगाउनु पर्ने तर्क गर्ने गरेका छन्। जुककरवर्गले उनीहरूसँग अझै बढी नीतिगत प्रश्नहरू गर्न थाले र फेसबुकमा भएका विवादास्पद पोस्टहरू नियन्त्रण गर्ने काममा सहभागिता जनाउन थाले।

सन् २०१८मा उग्रदक्षिणपन्थी टक-सोका सञ्चालक एलेक्स जोन्सका पोस्टहरू हटाउने निर्णयमा उनी आफैं संलग्न थिए। क्लेगका अनुसार फेसबुकका नीतिहरू स्पष्ट नभएका विषयमा निर्णय लिन उनी आफैं अग्रसर हुने गरेका छन् तर कार्यान्वयन भने आफ्ना सहायकहरूलाई छोडिदिने गरेका छन्।

हालसालै उनले महत्वपूर्ण ‘कन्जरभेटिभ’हरूसँग पनि सम्बन्ध बनाउन थालेका छन्। यसका लागि उनले ट्रम्प समर्थक तथा फेसबुकका लामो समयका बोर्ड सदस्य तथा वैश्विक नीति प्रमुख पिटर थेलको सहयोग लिएका छन्। साथै, पूर्वराष्ट्रपति जर्ज डब्लु बुसका सचिवालयका उपप्रमुख जोल कप्लानको सहयोग पनि उनले लिइरहेका छन्।

जुकरवर्गले वर्तमान राष्ट्रपति ट्रम्पका ज्वाइँ एवम् वरिष्ठ सल्लाहकार कुश्नरसँग पनि हार्दिकतापूर्वक छलफल गर्ने गरेका छन्। उनीहरूबीच फेसबुकको नीतिलाई लिएर ह्वाट्सएपमा कुराकानी हुने गरेको छ। उनीहरूबीच हुने कुराकानीबारे जानकारहरू भन्छन्, यसवर्ष जुकरवर्गले कुश्नर र वित्त मन्त्री स्टेभेन म्नुचिनसँग अमेरिकामा टिकटकको बढ्दो प्रभावबारे कुराकानी गरेका थिए। तै पनि फेसबुकका प्रवक्ताले प्रष्टिकरण दिएका छन्, ‘टिकटक प्रतिबन्धका लागि प्रशासनलाई [जुकर्वर्गले] प्रेरित गरेको भन्ने आरोप गलत छ।’

कुश्नर र म्नुचिनसँग जुकरवर्गको कुराकानीबारे जानकार रहेकाहरू भने फेसबुकको सञ्चालनमा अधिकांश अमेरिकी नै हुँदासमेत एप्पलमाथि फेसबुकमाथि जतिपनि छानबिन नभएको गुनासो जुकरवर्गले गर्ने गरेको बताउँछन्।

गतवर्ष फेसबुकले राजनीतिक सामग्री नियन्त्रण गर्ने नयाँ नीति ल्याएपछि कुश्नरले यो नीतिले रिपब्लिकन र डेमोक्र्याटिक दुवैको राजनीतिक अभियानमा समस्या सिर्जना गर्ने जुकरवर्गलाई बताएका थिए।

जुकरवर्गले दक्षिणपन्थी प्रकाशकहरूसँग पनि आफ्नो सम्बन्ध विस्तार गर्दै लगेका छन्। डेली वायरका सहायक संस्थापक बेन शापिरो त्यसैमध्येका एक हुन्। यो ‘कन्जरभेटिभ’ अनलाइनले गलत तथ्य प्रयोग गरेको र तथ्यलाई तोडमोड गरेको भन्दै पटकपटक फेसबुकका फ्याक्ट चेकरबाट चेतावनी पाउने गरेको छ। फेसबुकको विश्लेषणात्मक प्रविधि क्राउनट्याङ्गलका अनुसार प्रयोगकर्ताको सहभागिताका आधारमा प्राय:जसो यो अनलाइन सबैभन्दा लोकप्रिय हुनेगरेको छ।

जुकरवर्गले गतवर्ष शापिरोलाई आफ्नो घरमा डिनरका लागि निम्त्याएका थिए। उनीहरू दुवै साथी त होइनन्, तर उनीहरूबीच राजनीति र दर्शनका वृहत्तर विषयमा छलफल हुने गरेको छ। अधिकांश विषयमा उनीहरू सहमत भने हुँदैनन्।

एक वक्तव्यमा शापिरोले आफूले कुराकानी गरेका व्यक्तिका बारेमा कुनै टिप्पणी नगर्ने बताएका छन्। एक कन्जरभेटिभ र राजनीतिक रूपमा फरक विचार राख्ने व्यक्तिबीचको भेटघाटलाई लिएर मिडियामा गालीगलौज हुने गरेको उनको भनाई छ।

सन् २०१७को अन्त्यतिर, जब फेसबुकले राजनीतिक समाचारको प्रभाव न्युनिकरण गर्न आफ्नो न्युजफिड अल्गोरिदममा परिवर्तन ल्यायो, नीति कार्यावन्यन गर्नेहरू यसले डेली वायरजस्ता दक्षिणपन्थी प्रकाशनहरूमा बढी प्रभाव पार्नेमा चिन्तित थिए। पछि उनका इन्जिनियरहरूले अल्गोरिदममा फेरि डिजाइन गरे, जसकारण मदर जोन्सजस्ता बामपन्थी प्रकाशनहरू पहिले सोचेभन्दा बढी प्रभावित भए।

जुकरवर्गले यो परिवर्तनलाई अनुमति प्रदान गरे। फेसबुकका प्रवक्ता भन्छन्, ‘हामी कुनै पनि एक प्रकाशकलाई प्रभाव पार्ने नियत राखेर परिवर्तन गर्दैनौं।’

अनुवादक : रोहेज खतिवडा


सम्बन्धित खबरहरु