आज: 

‘जो जहाँ जहाँ छौं, त्यहीँत्यहीँ रहेर दसैं मनाऔँ’

ओके खबर १० कार्तिक २०७७, सोमबार ०८:०७ मा प्रकाशित ( महिना अघि) २२५ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गरेकी हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन् ।

चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको भन्दै उनले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताएका छन् ।

अहिले कोरोना महामारीको विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गरेका छन् । उनले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।

 


सम्बन्धित खबरहरु