अल कायदाका वरिष्ठ नेता अफगानी सेनाको कारबाहीमा मारिए

ओकेखबर संवाददाता १० कार्तिक २०७७, सोमबार ०७:५५ मा प्रकाशित ( साल अघि) ५०३ पाठक संख्या

एजेन्सी । मास्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मस्ट वान्डेट सुचीमा रहेका अतिवादी इस्लामिक संगठन अलकायदाका वरिष्ठ नेता अबु मुहसिन अल मास्री अफगानी सेनाको कारबाहीमा मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीटमार्फत यसको जानकारी दिएको हो ।

अमेरिकाले उनीविरुद्ध विदेशी आतंकवादी संगठनलाई भौतिक सहयोग र स्रोत उपलब्ध गराएको र अमेरिकी नागरिकहरुको हत्याको षड्यन्त्र रचेको अभियोग लगाएको थियो । अल कायदाका दोस्रो ठूलो नेता मानिने अल मास्री घान्जी प्रान्तमा भएको विशेष कारबाहीका क्रममा मारिएको निर्देशनालयले जनाएको छ ।

यही महिना, अमेरिकाले तालिवानी शासकहरुलाई अफगानिस्तानमा सत्ताच्युत गरेको १९ वर्ष पुुगेको छ । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हमला गर्ने अलकायदालाई तत्कालीन समय तालिवानले संरक्षण गरेको थियो । यद्यपी, अहिले तालिवानलाई सत्तामा फर्कनका लागि अमेरिकाले नै सघाइरहेको छ, गत फेब्रअरीमा तालिवानसँग वार्ता गरेपछि अमेरिकाले निरन्तर रुपमा अफगानिस्तानबाट आफ्ना सेना फर्काइरहेको छ ।

अमेरिका–तालिवानबीचको सहमतिअनुसार अफगानिस्तानबाट मेइ २०२१ सम्म विदेशी सेना फिर्ता हुनेछन्, यसको बदलामा तालिवानले आतंकवादी गतिविधिको प्रतिरोध गर्ने ग्यारेन्टी गरेको छ । स्थायी युद्धविराम गर्ने र अफगान सरकारसँग तालिवानले पावर सेयरिङ गर्ने सहमति बनिसकेको छ । यही सहमतिमा टेकेर अन्तर अफगान शान्ति प्रक्रिया गत महिनाबाट दोहामा सुरु भएको थियो । वार्ताका र शान्ति प्रक्रियाका बाबजुद अफगानी सेना र तालिवानबीच पछिल्ला साताहरुमा लडाइँ पनि चलिरहेको छ । गत साता अमेरिकी विशेष दूत जाल्मे खलिलजादले प्रतिवद्धताहरु पालना गरेर देशमा हिंसा कम गर्न तालिवान सहमत भएको जनाएका थिए ।


सम्बन्धित खबरहरु