खै कस्लाई आएको छ दशैं ?

प्रतिमा पोख्रेल ९ कार्तिक २०७७, आईतवार १४:१७ मा प्रकाशित ( साल अघि) ७८८ पाठक संख्या

शरद ॠतुको उत्साहित मौसम सँगै
हर्ष उल्लास सुख शान्ति समृद्धिका
उमङ्गित रङहरु बोकेर
वर्ग विभेद नगरी एउटै ढकमा जोखी
सम्पुर्ण नेपाली चेहराहरुमा
खुसिको रङ पोत्न सक्नु हो
दशैं !

तर  खै कस्लाई आएको छ दशैं ?
उता  अनिकालले लुलिएर लर्बराइरहेको देश
महामारीको चपेटा भित्र झस्किरहेको देखिन्छ
यता !शिरेटोले सेकिएका आङ्हरुमा
फेरिएका छैनन् नयाँ बस्त्रहरु
उहि च्यातिएकै बस्त्र देखिन्छन् ,
ऋण चुक्ता गरी
एकसरो कपडा फेरौं भनी हिडेका परदेशीहरु
आफ्नो घर आउन नपाई
उतै क्वारेन्टिन
कैद रुममा अलपत्र छन् भन्ने सुनिन्छ
अनि / एकछाक नुन किन्न नसकी
अलिनो पानीको भरमा लम्पसार परिरहेका
सयौं ज्यामिहरुको बाँच्ने आसाको त्यान्द्रो
कम देखिदैछ,
भरिएका छैनन् मगन्तेका झोलिहरु
उस्तै सडक र पेटीमा भौतारिएको भेटिन्छ,
खै कहाँ आएको छ खुसिको दशैं ?

 

सुनसान छ गल्ली र बस्ती
छ्यापिएको देखिदैन घरहरुमा
कमेरो र रातो माटो,
आँखाहरु बिछ्याइरहेकी छन् बुढी आमा
परदेशीको आगमनको बाटोतिर ,
खसी किन्न नसकी रित्तै देखिन्छन्
गरिबीले सुस्ताइरहेका आगनहरु,
उडेको देखिदैन आकाशमा
खुसिका चङ्गाहरु
रोटेर लिङ्गे पिङको भिड्मा
कसैमा भेटिदैन भाइचारा सम्बन्धहरु,
खै कुन्नी कहाँ भर्दैछ दशैं ले आफ्नो खुसिको रङ !!

 

दशैंको आशिर्वाद थाप्न घर आउन नपाई
पेशामानै तल्लिन देखिन्छन्
पल्ला घरका डाक्टर साहेब,
आफ्नो उडानको स्थगन गरी
बर्षौ चाड् मनाउन नपाएको गुनासो
पोखिरहेका छ्न पर पाइलटको
पगरी लगाएर बस्नेहरु,
आफ्नै आगनी प्रदेश बनाई
खुसी रहर र जवानिलाई
राष्ट्रसेवक सलामिमा सदासदा
छुट्टी नपाइ उभ्याइरहनुपर्ने
अमिलो तिक्तताको वाफ
मडारिरहेको आभास देखिन्छ
लाहुरेहरुको ,
उफ !खै कहाँ भित्रीएको छत दशैंको रौनक??
महँगी चुलिएर
भ्रष्टाचारीहरुको हस्तरेखामा घुमिरहेको
विराट राष्ट्रमा
कमिसन को बाजी जित्नेहरुको घरमा
आएको हुनुपर्छ दशैं ।

 


ठगी घुसखोरिको पोको सिरानीमा राखी
आराम लिइरहेका दरबारिया
महामानवहरुको सिंह दरबार भित्र
आएको हुनुपर्छ दशैं ,
खै कता कुन शहरमा आउँदैछ दशैं !
कि गरिबीको बस्ती र अनकन्टारका झुपडी
बिर्सिएर
जमिनदार र कंगाल मुलुक बनाउने
ठेक्केदारहरुको तड्कभड्कमा
अलमलिएको हुनुपर्छ दशैं
खै कहाँ कस्लाई आएको छ दशैं
नत ओर्लिएको देखिन्छ
बिरमान र सुन्तलीको पिठ्युँको भारी
खै कहिँ कतै कसैलाई आएको देख्दिन
उमङ्ग बोकेको महान दशैं

कवि प्रतिमा पोख्रेल समाजसेवी हुन् ।


सम्बन्धित खबरहरु