दसैँको टीका छाडेर आँसु खसाल्दै मुगलान लागे नेपाली

ओकेखबर संवाददाता ८ कार्तिक २०७७, शनिबार ०७:३१ मा प्रकाशित ( साल अघि) २८९ पाठक संख्या

काठमाडौं । यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा दसैँ मान्न घर फर्किने नेपालीको लस्कर हुने गथ्र्यो, कामको खोजीमा भारत जाने दुर्लभ नै देखिन्थे । तर, यस वर्ष स्थिति फरक छ । सीमामा घर फर्किने र मजदुरीका लागि भारत जाने नेपालीको संख्या उस्तै छ । बेरोजगारीका कारण गाउँमा दुई छाक टार्नै मुस्किल हुन थालेपछि कोरोना महामारीको जोखिम मोल्दै लस्करका लस्कर भारत गइरहेका छन् ।

रुकुमका ५३ वर्षीय गणेशकुमार पाण्डे बिहीबार भारी मन बनाउँदै रोजगारीका लागि भारतको सिमलातर्फ हिँडे । बाँकेको जमुनाह नाकामा भेटिएका उनी दसैँको टीका छाडेर बिदेसिनुपर्दा निराश देखिन्थे, अनुहार मलीन थियो ।

पाण्डेसँगै जाजरकोटका प्रेमबहादुर कामी पनि भारत जानेहरूको लाइनमा थिए । अरू दसैँ मान्न घर आउने वेला आफू भारत हिँड्नुुपर्दा मन पोलेको उनले बताए । ‘दसैँमा घर बस्दा पनि खान–लाउन नपाइने भएपछि भारत जान नै उचित लाग्यो । दसैँमा अरूले खाएको देखेर मन रुवाउनुभन्दा टाढा बस्न नै राम्रो हुने र दुई–चार पैसा पनि कमाइने भएकाले जान लागेको हुँ,’ उनले भने ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार दसैँ सुरु भइसकेपछि पनि भारत जानेहरूको संख्या घटेको छैन । भारत जाने अधिकांश नेपालीले घरमा खानेकुरा सकिएकाले कामका लागि बिदेसिन बाध्य भएको बताए । गाउँघरमा काम पनि नपाइने, भएको पैसा र अन्नपात सकिएपछि दसैँको मोह मारेर हिँडेको उनीहरूको भनाइ छ । भारतमा कोरोना महामारीले विकराल रूप लिएको थाहा भए पनि आफूहरूसँग विकल्प नभएको उनीहरूको दुखेसो छ । नयाँपत्रिका दैनिकबाट


सम्बन्धित खबरहरु