राष्ट्रपति निर्वाचनः ट्रम्प र बाइडनबीच अन्तिम चुनावी बहस सकियो

ओकेखबर संवाददाता ७ कार्तिक २०७७, शुक्रबार १०:१५ मा प्रकाशित ( साल अघि) १५४ पाठक संख्या

एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचन हुन १२ दिन बाँकी रहँदा राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनबीच चुनावअघिको अन्तिम बहस सम्पन्न भएको छ ।

टेनेसी राज्यको नास्भिलमा भएको बहसका लागि तोकिएका विषयमा कोभिड–१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातीय मुद्दा, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व थिए।

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतीय बहसपछि १६ हजार अमेरिकीको कोभिड–१९ का कारण मृत्यु भएकोबारे प्रश्न सोधेकी थिइन्।

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुँदैछ ।’

करिब २ सय मानिसहरू उपस्थित हलमा यसपटक सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरिएको थियो ।

बाइडनलाई सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि सोधिएको थियो।

कोरोना भाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर बाइडनको जवाफ थियो, ‘म चीन अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु ।’

यसअघि राष्ट्रपति ट्रम्पले पूर्वाग्रही अन्तर्वार्ता भन्दै सीबिएस न्यूज च्यानललाई दिएको आफ्नै कुराकानीको एउटा रेकर्डिङ सार्वजनिक गरेका थिए ।

अन्तर्वार्ता लिने सीबिएस न्यूज च्यानलले ट्रम्पले आइतवार प्रसारण हुने सो अन्तर्वार्ताको फुटेज पहिल्यै सार्वजनिक गर्न नपाइने आफूसँगको सम्झौता तोडेको जनाएको छ। ट्रम्पले सो अन्तर्वार्तामा आफूप्रति घृणा र कठोरता प्रस्तुत गरिएको जनाएका छन् ।

अन्तर्वार्ताकारले राष्ट्रपतिलाई अर्थतन्त्र, महामारी र स्वास्थ्य सेवाका बिषयमा जोड दिएर प्रश्नहरू सोधेका थिए।

सीबिएस न्यूजले यो घटना अकल्पनीय भएको भन्दै त्यसबाट आफ्नो तटस्थ र सान्दर्भिक रिपोर्टिङमा विचलित नभएको जनाएको छ ।


सम्बन्धित खबरहरु