गुह्येश्वरी गर्भगृहको २ किलो सुन हरायो!

ओकेखबर संवाददाता ७ कार्तिक २०७७, शुक्रबार ०६:३८ मा प्रकाशित ( साल अघि) ९९२ पाठक संख्या

काठमाडौंस्थित गुह्येश्वरी मन्दिरको १७३।५ तोला सुन हराएको छ।

पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मतरसम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको करिब २ किलो सुन गायब भएको पत्ता लागेको हो।

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो। मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोला मात्र भेटिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए।

अष्टदलमा ८५ तोला सुन अनियमितता भएको पाइएको छ। यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत÷सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोला मात्र पाइएको छ। भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ।

‘साविकको सुन गायब भएपछि २ करोड ११ लाख रुपैयाँ खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८र१८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले बेहोर्ने,’ उनले भने।

गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ। द्वैध स्वामित्वका कारण मन्दिरमा बेलाबेलामा विवाद आउने गरेको छ।

व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सीजस्ता तामसी चिज पनि चढाइने भएकाले सुन खिइएर गएको दाबी गर्छन्।

कोषले व्यवस्थापन समिति र पुजारीलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो। समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यस सम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताए।

यस क्रममा १८ वर्षका अवधिमा दुई किलो सुन अण्डा, जाँड, रक्सीले खिइन्छ कि खिइन्न भनी प्रयोगशालामा परीक्षणसमेत गरिने भएको बुझिएको छ।

गुह्येश्वरीका सत्तलसमेत कोषले नै पुनःनिर्माण गरेको हो। रु २० करोडको लागतमा मन्दिर, सत्तललगायत ऐतिहासिक एवं धार्मिक महत्वका संरचना पुनःनिर्माण गरिएको हो।

पुनःनिर्मित सत्तल समितिले अनधिकृत रुपमा उपयोग गर्दै आएको छ। समितिका पदाधिकारीले आफन्तलाई यहाँ बाससमेत दिएको कोषको भनाइ छ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको अष्टदलमा कोषले ७५ किलो चाँदीको घेरा थप गरेको छ।


सम्बन्धित खबरहरु