आज बडादसैंको छैटौं दिन, कात्यायनीको पूजा गरिँदै

ओकेखबर संवाददाता ६ कार्तिक २०७७, बिहीबार ०७:३४ मा प्रकाशित ( साल अघि) ६२६ पाठक संख्या

काठमाडौं । आज बडादसैं अर्थात नवरात्रीको छैटौं दिन कात्यायनी भगवतीको पूजाआजा गरिदैँछ ।

कात्यायनी भगवतीलाई साहसको प्रतीकका रुपमा लिइन्छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा जन्मिएकी थिइन् । उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।

माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । आज देवीमन्दिर, शक्तिपीठ तथा दसैंघरहरुमा देवी कात्यायनीको पूजाआराधना भइरहेको छ ।


सम्बन्धित खबरहरु