आज: 

आज दसैंको पाँचौ दिन, यसरी गर्नुहोस् स्कन्दमाताको आराधना

सुजन तिमल्सिना ५ कार्तिक २०७७, बुधबार ०८:०९ मा प्रकाशित ( साल अघि) ३७३ पाठक संख्या

हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आराधना गरेर मनाइँदै छ। दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमातालाई पाँचौ रुपका रुपमा व्याख्या गरिएको छ ।

नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूको एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर दानवको कु-कृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएको शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ। नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो। नवदुर्गा भवानीहरू को यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । नवदुर्गाहरूको नाम क्रमशः यसप्रकार प्रस्तुत गरिएको छ ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

नवदुर्गाहरूमा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कूष्मन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन्।

नवरात्रिको पञ्चमीका दिन आज पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन्। कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो। यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहन्छन् । कमल ओछ्याएर बस्ने आदत भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ। सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजनहरूले तेज र कान्तिले सुसम्पन्न हुने उल्लेख गरिएको पाइन्छ।

साथै यी देविले विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन पनि पाइन्छ । त्यसैले भक्तहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा भक्तिभावले स्कन्दमाताको उपासना गरेमा भक्तको सम्पूर्ण इच्छा पूर्ण हुने र मृत्युलोकमा नी परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने विश्वास लिइन्छ। स्कन्दमाताको आराधना गर्नाले बालरूप स्कन्द भगवानको समेत आराधना हुन्छ।


सम्बन्धित खबरहरु