कोरोनाविरुद्धको चिनियाँ खोप ब्राजिलले प्रयोग गर्ने

ओकेखबर संवाददाता ५ कार्तिक २०७७, बुधबार ०७:३५ मा प्रकाशित ( साल अघि) ५१५ पाठक संख्या

एजेन्सी । कोरोना भाइरसकोविरुद्धको चिनियाँ खोप ब्राजिलले प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

ब्राजिलले नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको सरकारी अधिकारीले बताएका हुन् ।

साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकार चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप कोरोनाभ्याक किन्ने सहमति गरेको बताएका छन् । उनका अनुसार संघीय सरकार सो खोपका चार करोड ६० लाख डोज किन्न सहमत भएको हो ।

इम्युनाइजेसन कार्यक्रम आउँदो जनवरीमा सुरु हुने डोरियाले बताएका छन् । महामारी विरुद्ध खोप लगाएर व्यक्तिलाई इम्युनाइज गर्ने यो विश्वको पहिलो कार्यक्रम हुने उनको दाबी छ ।

ब्राजिलमा अहिलेसम्म झण्डै ५३ लाख मानिस संक्रमित भएका छन् भने कोभिड–१९ का कारण करिब एक लाख ५५ हजारको ज्यान गएको छ ।

चिनियाँ कम्पनी सिनोभाक बायोटेकले विकास गरेको कोरोनाभ्याकको प्रयोगका लागि ब्राजिलमा प्रयोगका लागि त्यहाँको स्वास्थ्य नियामक निकायको स्वीकृति चाहिन्छ । चिनियाँ खोपको ब्राजिलमा पनि परीक्षण भइरहेको छ ।


सम्बन्धित खबरहरु