आऊ फर्की रहर बटुली जन्मिएको धरामा
पोखेे तिम्रा श्रम र पसिना स्वर्ण फल्छन् गरामा
आफ्नै प्यारो मुलुक बनियोस् चाह बोकेर आऊ
हाम्रा आँखा अब गलिसके देश सम्झेर आऊ
छैनन् मौरी पर पर गए रित्तिएको छ घार
रित्तो लाग्ने युवक नहुँदा खेत बारी र टार
आयो हाम्रो घरतिर दशैँ गाउँ सम्झेर आऊ
कुर्दाकुर्दै तन गलिसक्यो देश फर्केर आऊ
बाटो हेर्दै दिन र महिना साल बित्दै गएछन्
रोधी, भैलो, घर, वन तथा चाड नौला भएछन्
हामी रोगी अब भइसक्यौँ झट्ट आऊ बचाऊ
पर्खी पर्खी थकित बनियौँ देश फर्केर आऊ
वैरी आई सब लुछिसके अस्मिता मातृ-भूको
देखेकै हो गतिविधि सबै देश हाँक्नेहरूको
आऊ फर्की युवक धरती स्वर्गजस्तै बनाऊ
मर्छौँ पीडा सहन नसकी गाउँ फर्केर आऊ
डाँडापाखा वन चउरले प्रीतिको आश गर्दा
छैनन् कोही अब त घरमा को मलामी म मर्दा
रातो टीका अनि मखमलीसाथ माया लगाऊ
तिम्रो प्यारो घर छ अधुरो झट्ट फर्केर आऊ
कवि सृजना अर्याल साहित्य क्षेत्रमा कलम चलाउनुहुन्छ ।