पुरानै भाडा पूरै सिटमा यात्रु

ओकेखबर संवाददाता २ कार्तिक २०७७, आईतवार ०९:०७ मा प्रकाशित ( साल अघि) ८१९ पाठक संख्या

काठमाडौं । लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा कायम गरेको हो । सूचना सार्वजनिक हुनासाथ यातायात व्यवसायीले पूरै सिटमा यात्रु राखेका छन् ।

पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असोज १ देखि ५० प्रतिशत भाडा वृद्धि गरेको थियो । वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् ।

सार्वजनिक यातायातका साधनमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ तर पूर्ण सिट क्षमतामा यात्रु राखेपछि सामाजिक दूरी कायम हुन नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भाडा घटाएर पुरानै कामय गरिनु भनेको पूर्ण सिट क्षमतामा चलाउन भनेको दाबी गर्दै आजैबाट बसका सबै सिटमा यात्रु राखिएको जानकारी दिनुभयो । तर मन्त्रिपरिषद्को निर्णयले भाडा घटाए पनि सिट क्षमताको बारेमा कुनै निर्णय गरेको छैन । विभागले पनि भाडा घटाइएको सूचना सार्वजनिक गरेको छ तर पूरै सिटमा यात्रु राख्ने नराख्ने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

ट्राफिक प्रहरी प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार शनिबार ३ः०० बजेदेखि पूरै सिटमा यात्रु राख्न दिइएको छ । उनले भने ” लामो तथा मध्यम दूरीका सवारीसाधनलाई मात्र पूरै सिट खुला गरिएको तर सहरी क्षेत्रका सार्वजनिक सवारीसाधनमा भने सिट क्षमताको आधा कायम गरिएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङको आवश्यकता नरहेको बताएका छन् । कोरोनाको प्रभावका कारण यात्रुको चाप नै नभएकाले अग्रिम जरुरी नरहेको महासङ्घले जनाएको छ । –गोरखापत्र

 


सम्बन्धित खबरहरु