म डराइरहेछु…

गंगा भट्टराई २३ आश्विन २०७७, शुक्रबार ११:४० मा प्रकाशित ( साल अघि) १०२४ पाठक संख्या

एक महिला
जो उच्च अहोदामा छिन्
र उनले भनेकै भरमा
देश चलिरहेको छ।

 

महिला माथी यति शोषण भैरहदा
आँखा र कान दुवै बन्द गरेर बस्न सक्ने
तिमी त्यो सिंहासनमा बस्न
पटक्कै लायक छैनौ !

 

एकपटक आँखा खोलेर हेरिदेऊ
तिम्रा छोरी जस्तै कलिला नानिहरु
हर दिन रगतले लेपिएका छन् ,
हरेक दिन एडिडले छेपिएका छन् ,
हरेक क्षण उनको जीवनका आशाहरु मेटिएका छन !

 

दिनमा हास्दै हिड्ने म त्यो गल्लि
अलि बेलुका भयो हिड्न डराउछु
नयाँ कोहि राम्रो नै किन नहोस्
उ सङ बोल्न डराउछु,
कतै उ पनि
त्यही आशय लिएको मान्छे त होइन?

 

म गाडिमा अनायासै कसैले छोएको देख्छु,
म आफैलाइ कसैले छोइरहेको महसुस गर्छु,
तर न त म बोल्छु
न त ती अर्कि दिदी
जो अप्ठ्यारो मान्दै बसिरहेकी छिन !

 

हरेक समय कोहि छोरी
शोषणकै कारण कराइरहेकी छिन,
आफ्नै मान्छे त हो भनेर
चुपचाप सहिरहेकी छिन्
वा उनलाइ सहन
बाध्य बनाइएको छ !

 

हामिलाई मौन तिमिले बनाएकी छौ
तिम्रा बनेका तर नअपनाइएका
कानुनले बनाएको छ !
हामिलाइ मौन
अपराधीलाई हुनुपर्ने सजाय
बन्दै नबनेको देशले बनाएको छ।

 

हामीलाई बाच्न देऊ
हामीलाई आफ्नो तरिकाले जिउन देऊ
हामीलाई हास्न देऊ
हामीलाई पनि ती सपना बुन्न देऊ
जो बनाउन खोज्दा खोज्दै चुडिएका छ्न् ।

 

आज सुने
२ महिनाकी बालिकाको बलात्कार पछि हत्या भयो रे
एक महिलाको आफ्नै श्रीमान ससुराको कारणले ज्यान गयो रे
हामी कहिलेसम्म आफ्नै घरमा बस्न डराउने?
हामी कहिले सम्म घरबाट निस्कन डराउने?
कहिले सम्म माइतीघरमा बसेर कराउने?
हाम्रा आवाज तिमिले कहिले सुन्ने?

 

यति भैरहदा केही गर्न सक्दिनौ हैन ?
एकपटक दरबारबाट उठेर सडकमा आऊ !
हेर नेपालका छोरिहरु रगत
एसिड, बलात्कारि शुक्रकिट र
हातको पन्जाले पोतिएको
तर अह !

तिमी देख्छौ केही बोल्दिनौ
हामी हरेक दिन सुन्छौ
र भक्कानिन्छौ
कतै अर्को सिकार हामी त हुदैनौ !

म डराइरहेछु…

रचनाकार  गंगा भट्टराई विद्यार्थी हुन ।


सम्बन्धित खबरहरु