आज: 

म बाँच्न चाहन्छु

समिक्षा खतिवडा २२ आश्विन २०७७, बिहीबार ११:१५ मा प्रकाशित ( हफ्ता अघि) ४४६ पाठक संख्या

कत्ती फरक छ है ?
म र तिमीमा
मलाई देख्दा तिमी मात्तिन्छौ
तिमीलाई देख्दा म आत्तिन्छु
मलाई हेरेर तिमी उत्तेजित हुन्छौ
तिमीलाई हेरेर म काप्न थाल्छु ।

 

कत्ति सोझो थियो मेरो नजर
तिमीमा आफ्नै बुवा र दाजु देख्थे म
आजकल नजर बदलिएको छ
आफ्नै बुवामा पिपासु देख्छु
आफ्नै मामामा कंश देख्छु
आफ्नै दाजुमा ब्वाँसो देख्छु ।

 

तिमीले मेरो आँखा अघिल्तिर
पर्दा लगाईदिएका छौ
बिल्कुल कालो पर्दा
हर पुरुष नजरको प्यार छेक्ने पर्दा
ती नजरमा प्यासमात्रै देखाउने पर्दा ।

 

तिमीभन्दा असल त बरु मलाई
सबैले घृणा गरेका रावण लाग्छन
कमसेकम आफ्नी बहिनीको लागि
असल दाजु त बनेका थिए
राज्य ध्वस्त हुनुको प्रवाह नगरेरै
बहिनीकै लागि लडेका त थिए ।

 

तर तिमी त आफ्नै बहिनिसमेत नङ्याईदिन्छौ
आफ्नै छोरीलाई लुटिदिन्छौ
आमामाथिसमेत गिद्दे नजर गाड्छौ
शंका लाग्छ, तिमीप्रति
कुनै आमाले नै जन्माएकी हुन तिमीलाई ?
कि कुनै राक्षस्निको गर्भबाट आएका हौ ?

 

ति आमा पनि धिक्कार्दिहोलिन
आफ्नो कोखलाई, आफ्नो छातिलाई।
प्रश्न गर्दिहुन् आफैसंग
मेरा अमृतसरि दशधारामा जहर कसले भर्यो?
मैले पवित्र ठानेको कोखबाट
राक्षस कसरी जन्मियो ?
र जवाफ नपाएर
भक्कानिदिहुन, पिल्सदिहुन, आफैभित्र ।

 

मेरो कपडा उतारिरहदाँ,
तिम्रो हात किन काप्दैन ?
मेरो अस्मिता लुटिरहदाँँ
तिम्रो मुटु किन चस्कदैन ?
मेरा आँसु देख्दादेख्दै
आफू कसरी तृप्त बन्छौ?
मेरो चिच्याहट सुन्दासुन्दै
आफू कसरी रम्न सक्छौ?

 

तिम्रो निमेषभरको उत्कर्श खरिद गर्न
मैले पुरै जीवन सुम्पिनुपर्ने
तिम्रो तृप्ति महंगो कि
मेरो जीवन मुल्यहिन?

 

निसंकोच खित्काएर हास्ने म
आफुलाई सजाउन मन पराउने म
आजकल त मलाई
मुस्कुराउन पनि डर लाग्छ
आफुलाई शृङ्गार्न पनि डर लाग्छ
के मेरो हास्ने अधिकार छैन र ?
के मलाई ठिकठाक देखिने अधिकार छैन र?

 

५ बर्षकि बालिकादेख्दा
मात चढ्ने तिम्रो शरीर
मलाई त जवानिले फक्राईदिएको छ
मलाई देख्दा कती क्रूर बन्लाउ तिमी
हो, मलाई कत्तिपनी रहर थिएन
आफ्नै गालामा लालि लिएर हिड्न
आफ्नो शरीरमा जवानी लिएर हिड्न ।

 

आफ्ना गाला आफै चाउरी पार्न नमिल्ने रहेछ
शरीरबाट जवानी उतार्न नमिल्ने रहेछ
यदि मिल्थ्यो त, पकाईदिन्थे कपाल
गुजुमुज्ज पारिदिन्थे गालाहरु
कलेटी पारिदिन्थे ओठ
उतारिदिन्थे जवानी
र फुंग रुप लिएर बाँच्थे
कमसेकम बिनाभय निदाउन त पाउथे
निसंकोच हिड्न डुल्न त पाउथे
नडराई बाँच्न त पाउथे।

 

ए ! सुनन
सानो बिन्ती गर्छु
राज्यलाई कमजोर ठान्यौ
कानुनसंग डराएनौ
प्रशासनकै छाता ओड्यौ
कमसेकम भगवानसंग त डराउ न है
तिमीमा अलिकती मानवता बाँकी छ भने
मेरो नजरको पर्दा उतारिदेउ न है
आफ्नो उत्तेजना काबुमा राखेर
मेरो लागि मात्र भएपनि मानव बनिदेउन है
मेरा बाबा, दाजु र मामा प्रतिको विश्वास
पुन: फर्काईदेउन है।

 

म पहिलेजस्तै निष्फिक्री
दाजुसँग खेल्न चाहन्छु
बाबाको काँधमा निदाउन चाहन्छु
मामाको काखमा लुटपुटिन चाहन्छु
म कसैको खेलौना बन्न चाहन्न
सबैकी प्यारी छोरी बन्न चाहन्छु
र सबैभन्दा ठूलो कुरा
म बाँच्न चाहन्छु।

लेखक समिक्षा खतिवडा विद्यार्थी हुन।


सम्बन्धित खबरहरु