आज: 

‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

ओके खबर १९ आश्विन २०७७, सोमबार १३:५१ मा प्रकाशित ( हफ्ता अघि) १२६ पाठक संख्या

काडमाढौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १३ औंँ युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न सांसदलाई आग्रह गरेको छ ।

यही असोज १७ र १८ गते भएको सम्मेलनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसद्मा विचाराधीन सो ऐन एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूलमन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसँंग जोड्ने प्रावधानसहित पारित गर्न सबै सांसद तथा प्रमुख राजनीतिक दललाई आह्वान गरेको छ ।

सम्मेलनले युरोपमा कोरोना सङ्क्रमणको ‘दोस्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञले दिइरहेकाले सुरक्षित रहन सबै गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ ।

सन् २०१९ मा नेपाल सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एनआरएनएले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी रु १० अर्बको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता सम्मेलनले गरेको छ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चन हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै सम्मेलनले युरोपस्थित नेपालीलाई उक्त कोषमा लगानी गर्नसमेत आह्वान गरेको छ ।

कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका करीब पाँच लाख नेपालीलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकाय तथा निजी क्षेत्रसमेतसंँग सहकार्य गरी बृहत् अभियान सञ्चालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

खाडी, मलेसियालगायत मुलुकमा रोजगारी गुमाएका लाखौंँ नेपाली नेपाल फर्कन पर्खिरहनुभएकाले खासगरी महिला, बिरामी, अशक्त, अर्थाभाव बेहोरिरहनुभएका नेपालीलाई निःशुल्क उडानको व्यवस्था मिलाउन तथा दशैंँतिहार अगावै अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने योजना सार्वजनिक गर्न सम्मेलनले नेपाल सरकारसंँग आग्रह गरेको छ ।

मातृभूमिका लागि सीप र ज्ञान, महिला तथा युवा आवाजका लागि हाम्रो अभियान मूल नारा रहेको भर्चुअल सम्मेलनमा ११ औंँ युरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्र आयोजना गरिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेको सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपा नेता डा गङ्गाधर तुलाधर, नेपाली कांग्रेसका नेता गगनकुमार थापा, राजदूत, एनआरएनएका केन्द्रीय नेतृत्व, पूर्वअध्यक्ष, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा गैरआवासीय नेपालीको सहभागिता थियो ।


सम्बन्धित खबरहरु