नेपाली श्रमिक ६ महिनाभित्रमा इजरायल जान पाउने

ओकेखबर संवाददाता १७ आश्विन २०७७, शनिबार ०९:४० मा प्रकाशित ( साल अघि) ५६४ पाठक संख्या

काठमाडौं । नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् ।

दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यससम्बन्धी कार्यविधि तयार गरेर श्रमिक पठाउने प्रक्रिया गर्ने जनाइएको छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

नेपाली श्रमिकले इजरायलको केयरगिभर, कृषि, होटल, रेस्टुरेस्ट, निर्माणलगायतका क्षेत्रमा रोजगारीको अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ ।

 

यसअन्तर्गत पहिलो चरणमा केयरगिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ । वैदेशिक रोजगार विभागका अनुसार श्रम सम्झौता भएपछि इजरायल सरकारले दुईपटक श्रमिकको माग गरेको थियो । त्यसपछि श्रमिकको माग नै बन्द गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयरगिभरको रोजगारीमा जाने सम्झौता भएको थियो ।

 

नयाँ श्रम सम्झौतापछि विगतभन्दा व्यवस्थित प्रणालीबाट इजरायल रोजगारीमा श्रमिक पठाउन सकिने विभागका महानिर्देशक दाहालको भनाइ छ । श्रम सम्झौताअनुसार एसएलसी वा एसईई उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने कियरगिभरसम्बन्धी तालिम लिएका, अङ्ग्रेजी बोल्न सक्नेले इजरायल रोजगारीमा जानका लागि आवेदन दिनसक्ने छन् । श्रम सम्झौतामा विभिन्न चरणमा दुई सय अमेरिकी डलर तलब हुने बताइएको छ ।


सम्बन्धित खबरहरु