सरकार भन्छ: ‘नसुहाउने बेलामा अनशन नबस्नुस्’

ओकेखबर संवाददाता १५ आश्विन २०७७, बिहीबार १९:२६ मा प्रकाशित ( साल अघि) ५४० पाठक संख्या

काठमाडौं । सरकारले १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं अनशनमा बस्नु भएका डा. केसीलाई अहिले अनशन बस्ने समय नभएको तर्क सरकारको छ ।

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीबाट आम नागरिकलाई जोगाउनु पर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहाउँदो नभएको बताए ।

ज्ञवालीले डा. केसीका धेरै माग पूरा भएको दाबी गर्दै भने, ‘यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र ? पक्कै पनि होइन ।’

सरकारलाई दबाब दिइरहनु जरुरी छैन भन्दै ज्ञवालीले भने, ‘उहाँका धेरै माग पूरा भइसकेका छन् । हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं । ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ । सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि शुरू भइसकेको छ । सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ । यसमा थप दबाव दिनु जरूरी छैन ।’

पिसिआर परीक्षण बढाउनु पर्ने माग सम्बोधन भइसकेको पनि उनले बताए ।

आजैमात्रै कोरोनाबाट एक जना चिकित्सकलाई गुमाउनु परेको भन्दै उनले यस्तो बेलामा अनशन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसीलाइई आग्रह गरे ।

भदौं २९ गते जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसी स्वास्थ्य कमजोर भएपछि काठमाडौं आएर हाल शिक्षण अस्पतालमा अनशनमा हुनुहुन्छ ।


सम्बन्धित खबरहरु