अमरकथा

ऋषभदेव घिमिरे १५ आश्विन २०७७, बिहीबार ११:१४ मा प्रकाशित ( साल अघि) ८६९ पाठक संख्या

हिमालय पर्वतको फेदीमा
शिवले पार्वतीलाई सुनाए
नैमिसारण्यमा अठ्ठासी हज्जार
ऋषिहरूले सुने र सुनाए
सौनकादिहरुले सुने
अठ्ठासौं व्यासहरुले लेखे/लेखाए
युगौं युगान्त
चीरस्थायी रहने अमरकथा

 

शून्य र शान्त
वनप्रभागकाे मध्यभागमा
आर्शिमा कुदिए जस्तै
काेरेर ओमकारकाे मण्डलाकृति
भरेर सर्वताेभद्रमा जैविक रङ्गहरू
सन्मुख तिमीलाई विराजित गराएर
सुनाउन मन लागेकाे छ
शाश्वत चिन्तनले भरिएको अमरकथा

 

धर्मशास्त्र,पुराण र श्रुतिहरुमा भेटिने
सार अमरकथाबाट बताउन मन लागेकाे छ
यम-नियम र जन्मनु मर्नुकाे भेद
एक सय आठ रुद्राक्षकाे महत्त्व
चौरासी लाख याेनीकाे
चक्करबाट उन्मुक्ति हुने अमरकथा
सुनाउन रहर छ
तिमीलाई स्कन्दपुराण र नारदपुराण
सारा स्कन्ध र अध्यायहरुबाट
बताउनु छ तिनमा वर्णित
आदर्श पात्रका चरित्रहरू
र,तिमीलाई बनाउन मन लागेकाे छ
मैले लेख्दै गरेकाे
अमरकथाकाे मूल पात्र

 

देवाधिदेवलाई चँदुवा बनाएर
कसेर बन्दपद्मासन
मलाई बताउन मन छ
वागभट्ट ऋषिका बयासी हजार सूत्र
हर्राे,वर्राे,सूठाे,जाइफल
ज्वानु,जाइपत्री,जेठीमधु,जटामसी
हलेदाे,गुज्राे,वनौषधी
र,आमाले सिकाएकाे भान्साकाे अमरकथा

 

म तिमीलाई सुनाउने छु
अमरकथाका यावत अमर सन्देशहरू
तिमी विचलित नहुनु
माछाे कै पेटभित्र लुकेर भए पनि सुन्नु
किम्बु कै पात चपाएर पनि सुन्नु
सुकेकै गड्यौलाले पेट भरेर पनि सुन्नु
नझकाउनु,ननिदाउनु
आँधी आए पनि नडग्मगाउनु
ल्याउन सक्छन् झरी र वर्षादले महामारी
किञ्चित नबदलेर आफ्नाे आसन
धीर भएर सुन्नु र मनन गर्नु
समयानुसाशनका अमरकथा

 

बुझेर अमरकथाका अमर वाणीहरू
जगाउनु तिमीले आफ्नाे कुण्डलिनी
लगाउनु निधारमा स्वाभिमानकाे विभूति
पहिरनु पाउमा
किटपतङ्गादिलाई पनि नदुख्ने पादुका
बन्नु तिमी कहिल्यै नमर्ने
अमरकथाकाे अमर पात्र
अमरकथा सुनाउनेलाई
आफ्नै हातले लगाई दिनु फूलको माला
अमरकथा सुन्ने तिमी प्रिय स्राेता
आफुले पनि पहिरनु गला भरी सुवर्णकाे माला
अमरकथालाई स्वर्ग पठाउने कुरा कहिल्यै नगर्नु
स्वयं तिमी बनेर इन्र्दायणी
सुनाइ रहनु अमर स्वरले अमरकथा।

कवि ऋषभदेव घिमिरे साहित्यिक क्षेत्रमा कलम चलाउनुहुन्छ ।


सम्बन्धित खबरहरु