छोरी नजन्मून् अब

सृजना अर्याल १४ आश्विन २०७७, बुधबार १६:०७ मा प्रकाशित ( साल अघि) ८९० पाठक संख्या

सुन्दा वाक्क भएँ सधैँ खबर यी हत्या बलात्कारका
भो चाहन्नँ मुहार हेर्न कहिल्यै यस्ता समाचारका
जन्मेकै दिनबाट हुन्छ मनमा सन्त्रासमात्रै जब
पापी यो दुनियाँ छ, यो समयमा छोरी नजन्मून् अब

 

बाबासाथ रहेर ढुक्क कहिले बन्छन् र छोरी यहाँ
मर्यादा अनि धर्मको डर कहाँ छन् पापमात्रै जहाँ
हुन्छन् भोलि सधैँ अनिश्‍चित भने के हर्ष के उत्सव
रित्तो कोख बसोस् तथापि घरमा छोरी नजन्मून् अब

 

बन्छन् घातकसिद्ध यी रहरका नाना र चाचाहरू
गर्छन् दूषित प्रेम यी नजिकका मामा र काकाहरू
हुन्नन् हर्ष कहीँ कतै हृदयमा मर्नेछ इच्छा तब
आफ्नैबाट सदैव हुन्छ खतरा छोरी नजन्मून् अब

 

आगो लाग्छ शरीरमा र यसको हो दाइजो कारण
या तेजाब सहेर मृत्युसित नै लड्दै गरेको क्षण
यस्तो लाग्छ नजन्मियून् भुवनमा यी राक्षसी मानव
मान्छे नै यदि जन्मिए पनि कुनै छोरी नजन्मून् अब

 

देवीको प्रतिमूर्ति हुन् पनि भनी पूजा गरिन्थ्यो जहाँ
छोरी मानिस छन् सुरक्षित कहाँ भेटिन्छ शंका यहाँ
दे प्रारब्ध कि बुद्धि शान्त गरिदे मान्छेहरू यी सब
या यो सृष्टि तुरुन्त बन्द गरिदे छोरी नजन्मून् अब

कवि सृजना अर्याल साहित्य क्षेत्रमा कलम चलाउनुहुन्छ ।

 


सम्बन्धित खबरहरु