कोरियाली भाषा परीक्षा अब सन् २०२१ मा मात्रै

ओकेखबर संवाददाता १४ आश्विन २०७७, बुधबार ०८:३६ मा प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुसरमाघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सातरआठ महिना ढिला भए पनि परीक्षा हुने बताएलद ।

उजले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन÷चार महिना धकेलिन सक्ने सङ्केत गरे । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।

ईपीएस शाखाका अनुसार कोरोना सङ्कट सुरु भएयता एक हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ जनाको भिसाको म्याद सकिन लाग्दासमेत अहिलेसम्म कोरिया जान पाएका छैनन् । शाखाका अनुसार उनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ ।

सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म चार हजार २० महिला र ६२ हजार ८५२ पुरुषसहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि दक्षिण कोरिया गइसकेका छन् । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत छन् ।


सम्बन्धित खबरहरु