नरोक्नुस् आमा ! मलाई म बन्नुछ…

पूजा शर्मा 'प्रकृति प्रेमी' १३ आश्विन २०७७, मंगलवार १९:११ मा प्रकाशित ( साल अघि) ८५९ पाठक संख्या

हो ! आमा मलाई ” म ” बन्नुछ । अब मलाई नरोक्नुस , मलाई समाजको नीति नियम नसुनाउनुस् । मलाई त निलो खुला आकाशमा निस्फिक्री उडन मन छ । अहँ बाँधिन सक्दिन ती सिद्धान्तमा ती नियमले मलाई अनियंत्रित बनाउछ ।

 

मेरो जिन्दगीको परिभाषा धेरै फराकिलो छ , समाजका बनावटी सस्कार नामक कुरिती को बाध्यता नबनाउनुस् । झुक्न नसिकाउनुस ताकी शत्रुले गर्धन हान्ने मौका छोप्नेछन् । र नघोकाउनुस् गान्धी , गौतम बुद्ध , अरनिको कुरा ! ती त इतिहास मात्रै हुन् । गान्धी र बुद्ध बन्ने दर्शन पहिल्यै खरानी भैसकेका हुन् । नसुनाउनुस् ती एकादेशका भुत प्रेतका कथा म मा डर त्रास पैदा हुनेछ ।

 

हो ! म आफै बाच्ने एउटा जिन्दगी लिएर आएकी छु । मेसिनको इसारामा चलेको मान्छेको जिन्दगी ” जिन्दगी ” लागेन । जिउँदिन अब विधि र विधानको लागि । समाजका बनावटी ढोङलाइ सस्कारको उपनाम नदिनुस् आमा । मेरो बाल मस्तिष्कलाई अनुकरण गर्न दिनुस् । मेरो भरिलो जवानीलाइ विधि र विधानको पुरानो मधुस भित्र बन्दी गर्न नखोज्नुस् आमा , किन कि म त बाँच्न चाहान्छु ।

 

यहाँ त यस्तै हो, बाँचुञ्जेल त जाँड भित्रको किरा भएर बाच्नपर्छ । जब म मर्छु वैरभाव सारा भुलेर शत्रुले पनि बहकिने ठाउँ पाउनेछन् । र फ्याकिदिने छन् समावेदनका सुवासिला शब्दगुच्छाहरु । आमा मैले निधो गरिसके म स्वतन्त्र उडन चाहान्छु त्यो पिजडा खोलिदिनुस् ।

 

नेपालका साहसी चेली अनुराधा कोइराला चुलो चौकामै सिमित भएको भए हाम्रा दिदिबहिनी को हालत के हुन्थ्यो होला ?  ओमसरि घर्ती घर नछाडेकी भए संसदमा प्रतिनिधित्व गर्न सक्दैन्थिन् । तपाईंले हामी सन्तान बन्नका लागि गरेको त्याग र समर्पणको पनि एउटा ठुलै गर्विलो इतिहास छ । कहिल्यै सुखका सपना देख्नु भएन । यो भोगाइ र हेराइबाट मलाई म बन्नुछ । गर्नेछन् दुनियाँले अनेक तरहका टिका टिप्पणी । धेरै थरिले अनेकन सुझाव दिनेछन् । सासुआमा “लामा लुगा लगाऊ ” , छिमेकी दिदि ” सिन्दुरको धर्को पार “,  लोग्नेले भन्ने छ घरभित्रै बस्नु । र अक्सर मान्छेले सोध्नेछन बच्चाबच्ची के के भए ?

 

हो आमा मलाई थाहा छ , म मान्छे बनेको हेर्न सक्दैनन् । मलाई झुम्राको पुतली बन्न मन छैन । आमा ! यहाँ विश्वास कसैको नगर्नु ती पहाड, पत्थर जस्तै मान्छे हुन । नत्र त किन रजस्वला को ” र ” पनि थाहा नभएका मेरा कलिला बैनिहरुको बलिन्द्र आशुको चीत्कार सुन्न किन सक्दैनन् । किन दुख्दैन तिनीहरु लाई हँ ? सहनशीलता , सुन्दरता अभिशाप जस्तो लाग्छ मलाई । के चिज छ आमा त्यस्ताे मसंग , जसका लागि दुनियाँ नङ्ग्रा फिजाएर बसेको छ । उनिहरु मलाइ नङ्ग्याउन , कोपर्न , चिथर्न चाहन्छन ! कसरी चिनौ ती मान्छेको मुकुन्डो लागायका यौन पिपाशुहरु लाई ? त्यसैले मलाई म बन्नुछ आमा !

 

यो समाजले छोरिलाइ कोमल र निर्बलको सुचिमा राखेर तौलियो । त्यसदिनदेखी तपाईंले माया गरेर भन्ने शब्द ” छोरी ” पनि बोझिलो लाग्न थाल्यो । अनेक रङ्गिला पहिरन नपहिराउनुस मलाई , अत्यन्तै सुन्दरी बनेर कसैलाई आकर्षण गरुँ लाग्दैन ।

हो आमा अब उठनुपर्छ, परिवर्तन सम्भव छ । त्यसैले म नेतृत्व गर्नेछु । अब म लगायत हरेक देशप्रेमिले समाज एवं राष्ट्रका लागि आफ्नो सानो दायरा नाघेर देशको समृद्धिको योगदान स्वरुप एउटा इट्टा थप्नुपर्छ । नातावाद कृपावाद मेरा शब्दकोषमा हुनेछैन ।

 

आम नेपाल र नेपालीको जीवन स्तर उकास्न भन्दा आफ्नो स्वार्थ पुर्तिमा तल्लीन हुनु हाम्रो दुर्भाग्यपुर्ण अवस्था हो । व्यक्तिगत स्वार्थबाट माथी उठेर इमानका साथ जनताको सेवक भएर यो देश हाम्रै जीवन कालमा काँचुली फेर्नेछ ।

तपाईंको त्याग, समर्प, इमानदारी एवं कर्तव्यनिष्ठ व्यावहारबाट पाठ सिक्दै आफ्नो जीवनकालमा समृद्धि भ्रष्टाचार रहित एवम् कल्याणकारी नेपाल बनाउने अभियानमा संलग्न हुन चाहान्छु । त्यसैले नरोक्नुस आमा, मलाई म बन्नुछ । आमा आशीर्वाद दिनुस् ।

लेखक पूजा शर्मा  ‘प्रकृति प्रेमी ‘ विद्यार्थी हुन् । 


सम्बन्धित खबरहरु