विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

ओकेखबर संवाददाता १२ आश्विन २०७७, सोमबार ०८:४३ मा प्रकाशित ( साल अघि) ३६५ पाठक संख्या

काठमाडौं । विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट सो संख्यामा नागरिक मुलुक फर्किएका हुन ।

स्वदेश फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २ सय ३७ जना छन् भने सबैभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् ।

उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विदेश गएका थिए ।

 

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३ सय ८१, मलेशियाबाट ११ हजार ६ सय ५१, कतारबाट ११ हजार १ सय ५०, कुवेतबाट आठ हजार ४ सय ७८, जापानबाट एक हजार ७ सय ५४, दक्षिण कोरियाबाट एक हजार ४ सय ४७, ओमनबाट एक हजार ३ सय २५, बहराइनबाट एक हजार २ सय ७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९ सय ३६, बङ्गलादेशबाट ८ सय ८८, माल्दिभ्सबाट ८ सय ५३, सिङ्गापुरबाट ५ सय ५५, अमेरिकाबाट ४ सय ३०, चीनबाट ३ सय ३३ र जोर्डनबाट ३ सय १७ नेपाली स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ६ सय ११, प्रदेश २ का १२ हजार तीन, वाग्मती प्रदेशका १८ हजार २ सय ६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश ५ का ११ हजार ६ सय ११, कर्णाली प्रदेशका एक हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७ सय ४५ जना रहेको केन्द्रले जनाएको छ ।

फर्किनेमध्ये ११ हजार २ सय २७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।


सम्बन्धित खबरहरु